निर्वाचन काउण्टडाउन ९० : आयोग सबै हिसाबमा तयार
- २० मंसिर २०८२
- १ मिनेटको पढाई
काठमाडौं- निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार रहेको बताएका छन्।
निर्वाचनको दिन आउन ९० दिन बाँकी रहँदा उनले राष्ट्रिय समाचार समिति (रासस)सँग कुरा गर्दै सरकारले आयोगको मागअनुसार आवश्यक प्रबन्ध गरेको र आयोगले कार्यतालिका तथा कार्यक्रम प्रकाशन गरी सोही अनुसार काम भइरहेको बताए।
प्रधानमन्त्री सुशीला कार्कीले डाक्नुभएको राजनीतिक दल, मन्त्रीहरू तथा सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा पनि आयोगले निर्वाचनका लागि तत्परता स्पष्ट पारेको उल्लेख गरियो।
भण्डारीले भने, “हामीलाई बजेटको केही अपर्याप्तता थियो, तर अर्थ मन्त्रालयले मागअनुसार थप रकम निकासा गर्ने प्रतिबद्धता दिइसकेको छ। अब हामी नियमित कार्यक्रम अघि बढाउँछौँ।”
निर्वाचनका लागि आयोगले करिब रु सात अर्ब बजेट माग गरेकामा अर्थ मन्त्रालयले रु पाँच अर्ब ९६ करोड सुनिश्चित गरिसकेको छ। आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने दलहरूलाई निवेदन दिन आह्वान गरेको छ। यसअघि मङ्सिर १४ सम्ममा १२० दलले निवेदन दिइसकेका छन्।