२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

‘पुर्बै घुमेर’ गीतको भिडियो सार्वजनिक

‘पुर्बै घुमेर’ गीतको भिडियो सार्वजनिक

न्युयोर्क-  ममता राई अफिसियल (Mamata Rai ENT) युट्युब च्यानलमार्फत “पुर्बै घुमेर” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। नोभेम्बर २९ मा सार्वजनिक उक्त गीतमा चर्चित गायिका मेलिना राई र गायक कृष्ण भक्त राईको मुख्य स्वर रहेको छ भने कोरोसमा विनुसा राई र मनमा वि राईको स्वर समावेश गरिएको छ। गीतमा कृष्ण भक्त राईकै संगीत रहेको छ भने Mixing तथा Mastering राजन कार्कीले गरेका हुन्।

गीतकार ममता राईले अमेरिकाबाट लेखेको यस गीतमा पूर्वको साल्पा सिलिचुङ यात्राका क्रममा दुई प्रेमिल जोडीको भेंट र आकर्षणलाई पुर्वेली भाकामा प्रस्तुत गरिएको छ। प्रेमिल भावनाले भरिएको यस गीतले दर्शक–श्रोतामाझ विशेष आकर्षण ल्याउने विश्वास गरिएको छ। ममता राईका यसअघि पनि दर्जनौँ गीत चर्चित भइसकेका छन्।

गायिका मेलिना राई “द भोइस अफ नेपाल” की कोच समेत हुन्। उनले यसअघि करिब ९ वर्षअघि ममता राईकै “सम्झी सम्झी” बोलको गीतमा स्वर दिएकी थिइन्। गायक कृष्ण भक्त राई पुर्वेली गीतका चर्चित हस्ती हुन्। उनले पनि ५ वर्षअघि ममता राईकै शब्दमा बनेको “तारे भिर” गीतमा संगीत तथा स्वर दिएका थिए, जुन गीत दर्शक–श्रोताले अत्यन्त मन पराएका थिए।

मोडेल तथा प्र्याङ स्टार एलिस राई र ममता खालिङ राईले अभिनय गरेको यस म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी एलिस राईले नै गरेका हुन्। सहायक कोरियोग्राफी निर्देशनमा सरोज मुक्तान र उत्सना राईको योगदान रहेको छ। गीतको आर्थिक प्रायोजन अमेरिकावासी रोशन राई र गीतकार ममता राईले गरेका हुन्।

रेकर्डिङतर्फ मेलिना राईले Studio King मा रेकर्ड गरेकी हुन् भने कृष्ण भक्त राईले धरानस्थित Music Media मा रेकर्ड गराएका थिए। सम्पूर्ण गीतको काममा पुलको भूमिका निर्वाह गरेको भन्दै Studio King का मालिक मनोज सन्सुङ राईलाई गीतकार ममता राईले विशेष धन्यवाद ज्ञापन गरेकी छन्।