पोर्चुगलको मदेइरामा नेपाली दूतावासको घुम्ती शिविर, पहिलो दिनमै ५५ नेपालीले सेवा पाए
- २१ मंसिर २०८२
- १ मिनेटको पढाई
पोर्चुगल – पोर्चुगलको लिस्बनस्थित नेपाली दूतावासले सामुद्रिक टापु मदेइरामा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी घुम्ती ‘कन्सुलर’ सेवा सुरु गरेको छ।
राजदूत प्रकाशमणि पौडेलको नेतृत्वमा गएको टोलीले फुन्चालमा शनिबारदेखि शिविर सञ्चालन गरेको हो। पहिलो दिनमै ५५ जना नेपालीले सेवा लिएका छन्। दुई दिनसम्म सञ्चालन हुने शिविरबाट करिब एक सय बढी नेपाली लाभान्वित हुने अपेक्षा गरिएको छ।
शिविरमा राहदानीको म्याद सकिएका, हराएका, क्षति भएका वा छ महिनाभन्दा कम म्याद बाँकी रहेका व्यक्तिहरूका लागि विद्युतीय राहदानी (ई–पासपोर्ट) आवेदन संकलन भइरहेको छ। साथै प्रहरी चारित्रिक प्रमाणपत्र, पारिवारिक कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा प्रमाणीकरणलगायत सेवा पनि दिइएको छ।
गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वमहासचिव निराजन सुवेदीका अनुसार, यस घुम्ती शिविरले विशेषतः राहदानी नभएका वा म्याद सकिएका नेपालीलाई ठूलो राहत दिएको छ। उनले मदेइरामा बसोबास गर्ने नेपाली समुदायका लागि यो पहल अत्यन्तै सहज भएको बताए।
यसअघि गत महिना दूतावासले फारो सहरमा घुम्ती शिविर सञ्चालन गरेर करिब २०० नेपालीलाई सेवा दिएको थियो। पोर्चुगलमा करिब ७० हजार नेपाली बसोबास गर्ने अनुमान छ भने मदेइरामा करिब २ हजारभन्दा बढी नेपाली रहेको बताइन्छ।