२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

नेपालमा सप्ताहव्यापी अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने

नेपालमा सप्ताहव्यापी अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डिसेम्बर १८ मा हुने अन्तरराष्ट्रिय आप्रवासी दिवसलाई यस वर्ष विशेष र सन्देशमूलक ढङ्गले मनाउने तयारी गरेको छ।

मन्त्रालयमा सचिव डा. कृष्णहरि पुष्करको अध्यक्षतामा बसेको बैठकले दिवसको तयारीबारे छलफल गर्दै व्यवस्थापन तथा सहजिकरण समिति गठन गर्ने निर्णय गरेको छ। समितिले समय सुहाउँदो राष्ट्रिय नारा तय गर्ने र कामको बाँडफाँड गर्ने जिम्मेवारी पाउनेछ।

यस वर्ष आप्रवासनबारे सकारात्मक जनभावना अभिवृद्धि गर्न कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका हुँदै राष्ट्रपति कार्यालयसम्म पैदल यात्रा आयोजना गर्ने योजना छ। साथै, आप्रवासनका प्रमुख गन्तव्य मुलुकका दूतावासमा गएर हस्ताक्षरसहित धन्यवादपत्र बुझाउने कार्यक्रम पनि तय गरिएको छ।

सचिव पुष्करले भने, “आप्रवासी संस्कृतिलाई सकेसम्म सकारात्मक र ऊर्जावान बनाउनुपर्छ। कुनै पनि देशको विकासमा आप्रवासी संस्कृतिले अहम भूमिका खेलेको हुन्छ।”

पछिल्लो समय वैदेशिक रोजगारमार्फत श्रम बेचेर स्वदेशमा योगदान दिने नागरिक बढ्दै गएका छन्। आप्रवासीलाई पलायन नभई मर्यादित नागरिकका रूपमा सम्मान गर्न आवश्यक रहेको भन्दै सप्ताहव्यापी दिवस मनाउनुपर्नेमा जोड दिइएको छ।