२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

ट्रम्पद्वारा जेलेन्स्कीको आलोचना, युरोपेली नेतासँग लन्डनमा वार्ताकाे तयारी

ट्रम्पद्वारा जेलेन्स्कीको आलोचना, युरोपेली नेतासँग लन्डनमा वार्ताकाे तयारी

न्युयोर्क- राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी शान्ति प्रस्ताव नपढेको आरोप लगाएपछि जेलेन्स्की युरोपेली सहयोगीसँग लन्डनमा वार्ता गर्न तयारी गरेका छन्।

मियामीमा युक्रेनी तथा अमेरिकी अधिकारीबीच भएको वार्ता कुनै सहमतिविना सकिएपछि लन्डनमा छलफल तय भएको हो। बेलायती प्रधानमन्त्री केइर स्टार्मर, जर्मन चान्सलर फ्रेडरिक मर्ज र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले जेलेन्स्कीलाई स्वागत गर्नेछन्।

स्टार्मरले भने, “म जेलेन्स्कीलाई सम्झौता स्वीकार गर्न दबाब दिनेछैन।” म्याक्रोँले रूसको बढ्दो प्रभावको आलोचना गर्दै युक्रेनलाई सुरक्षा ग्यारेन्टी आवश्यक रहेको बताए।

ट्रम्पले पत्रकार सम्मेलनमा भने, “राष्ट्रपति जेलेन्स्कीले अझै प्रस्ताव नपढेकोमा म निराश छु।” यसअघि उनले जेलेन्स्कीलाई अमेरिकी समर्थनप्रति कृतज्ञ नभएको भन्दै आलोचना गरेका थिए।

युक्रेनी अधिकारीहरूले मस्कोको आक्रमण जारी रहेको जनाएका छन्, जसमा नौ जना घाइते भएका छन्। जेलेन्स्कीले भने, “युक्रेन वास्तविक शान्ति ल्याउन अमेरिकी पक्षसँग इमान्दारीपूर्वक काम गर्न प्रतिबद्ध छ।”

लगभग चार वर्ष लामो युद्ध अन्त्य गर्ने अमेरिकी प्रारम्भिक योजनामा रुसलाई भूमि त्याग्नुपर्ने प्रावधान रहेको छ, तर युक्रेन र युरोपेली सहयोगीहरूले सार्वभौमिकतामाथि आँच आउने प्रस्ताव अस्वीकार गर्ने संकेत दिएका छन्।