२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

पर्यटकको रोजाइमा अन्नपूर्ण–धौलागिरि वैकल्पिक पदमार्ग

पर्यटकको रोजाइमा अन्नपूर्ण–धौलागिरि वैकल्पिक पदमार्ग

काठमाडौं- म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढेको छ। अन्नपूर्ण चक्रीयको भुरुङ–तातोपानी–घोडेपानी–उल्लेरी–वीरेठाँटी–नयाँपुल खण्ड सडक विस्तारले प्रभावित भएपछि पदयात्रीले नयाँ मार्ग रोज्न थालेका हुन्।

यस पदमार्गले अन्नपूर्ण र धौलागिरि क्षेत्रका प्रमुख स्थलहरू—मोहरेडाँडा, पुनहिल, घोडेपानी, स्वाँत, खोप्रा, खयरबराही ताल, बयली, मुल्डे भ्यु पोइन्ट, घान्द्रुक, लान्द्रुक हुँदै घम्पुस—लाई जोडेको छ। करिब १० देखि १५ दिनमा यात्रा पूरा गर्न सकिने यो मार्गमा हिमशृङ्खला, सूर्योदय, वनजङ्गल, चौँरी गोठ, पक्षी तथा वन्यजन्तु अवलोकन गर्न सकिन्छ।

पथप्रदर्शक दिनेशकुमार घिमिरेले ग्रामीण जीवनशैली र शान्त वातावरण यस पदमार्गको मुख्य आकर्षण भएको बताए। पोखराबाट नजिक भएकाले पनि पर्यटकको रोजाइमा परेको उनको भनाइ छ। पर्यटन व्यवसायीहरूले यसलाई ‘धौलागिरि–अन्नपूर्ण पदमार्ग’नाम दिएका छन्।

स्वाँतका होटल व्यवसायी बलबहादुर तिलिजा पुनका अनुसार हाल दैनिक करिब १०० पर्यटक भ्रमणमा आउने गरेका छन्। खोप्रा ताल (३,६०० मिटर) यस पदमार्गको प्रमुख आकर्षण बनेको छ। होटल व्यवसायी लोकबहादुर पुर्जाले गाइडसहित यात्रा गर्न सुझाव दिएका छन्।

अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले सामुदायिक लजको क्षमता विस्तार, पदमार्ग स्तरोन्नति तथा नयाँ गन्तव्य पहिचानमार्फत प्रवद्र्धनमा जोड दिइएको बताए।