युरोपेली नेताहरूको आह्वान : युक्रेनमा न्यायपूर्ण शान्ति र कडा सुरक्षा ग्यारेन्टी
- २३ मंसिर २०८२
- १ मिनेटको पढाई
लन्डन- लन्डनमा बेलायतका प्रधानमन्त्री कीर स्टारमर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर फ्रेडरिक मेर्जबीच रूस–युक्रेन शान्ति वार्ताबारे छलफल सम्पन्न भएको छ।
बेलायती प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार चार नेताहरूले अमेरिकी नेतृत्वमा भइरहेको शान्ति प्रयासलाई समर्थन जनाउँदै युरोपेली सुरक्षाका लागि यसको महत्वबारे सहमति व्यक्त गरेका छन्। उनीहरूले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारलाई आगामी दिनमा निरन्तर छलफल गर्न जिम्मा दिएका छन्।
विज्ञप्तिमा युक्रेनमा कडा सुरक्षा ग्यारेन्टीसहित न्यायपूर्ण र स्थायी शान्तिको आवश्यकता रहेको उल्लेख छ। नेताहरूले युरोप युक्रेनसँग खडा हुनुपर्नेमा जोड दिँदै रूसी आक्रमणविरुद्ध युक्रेनको रक्षा क्षमता बलियो बनाउन सहमति जनाएका छन्। साथै, युक्रेनको पुनर्निर्माणका लागि नियन्त्रमामा लिइएका रूसी सार्वभौम सम्पत्तिहरू प्रयोग गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ।