४ चैत्र २०८२, बुधबार
18 March 2026, Wednesday

सुदूरपश्चिम रोयल्स फाइनलमा, विराटनगर किङ्स ७८ रनले पराजित

सुदूरपश्चिम रोयल्स फाइनलमा, विराटनगर किङ्स ७८ रनले पराजित

काठमाडौं –  नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा उच्च प्रदर्शन गरिरहेका दुई टोली सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सले आज पहिलो क्वालिफायर खेले ।

जसमा सुदूरपश्चिमले ७८ रनको जित निकाल्दै फाइनलमा पुगेको छ। जारी सिजनमा कुनै पनि टोलीले बनाएको यो कम स्कोर हो । सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा पुगेको छ। लगातार दोस्रो पटक फाइनल पुग्ने सुदूरपश्चिम एक्लो टोली हो ।

सुदूरपश्चिमले खेललाई एकपक्षिय बनायो। जस्तो पछिल्लो पटक यी दुई टोलीको भेटमा विराटनगरले एकतर्फी जित निकालेको थियो। त्यो खेलमा विष्फोटक ब्याटिङ गरेको विराटनगर आज पहिलो ओभरबाटै ब्याटिङमा संघर्ष गर्न बाध्य भयो । पहिलो ओभरमा २ विकेट गुमाएपछि विराटनगरले कुनै समय खुलेर ब्याटिङ गर्न सकेन ।

जसका कारण १ सय ५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा सबै विकेट गुमाएर ७७ रन मात्र बनाउन सक्यो। विराटनगरले फाइनल पुग्नका लागि अझै एउटा मौका बाँकी छ।

भोलि हुने एलिमिनेटरको विजेतासँग विराटनगरले बिहीवार क्वालिफायर टु खेल्नेछ। त्यसको विजेताले शनिवार सुदूरपश्चिमसँग फाइनल खेल्नेछ ।

पहिलो ओभरको पहिलो बलमा विराटनगरका ओपनर साम हेजलेट स्कट कुगेलेइनको बलमा आउट भए । मार्टिन गप्टिल पहिलो ओभरको अन्तिम बलमा रन आउट भए ।

नरेन भट्ट दोस्रो ओभरको पहिलो बलमा आउट भए । हर्मित सिहंको बलमा कुगेलेइनले नरेनको क्याच लिए। विराटनगरले पावर प्लेमा ३ विवेटको नोक्सानीमा ३४ रन बनायो ।

६.५ ओभरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले १२ रन बनाएका बसिर अहमदलाई आफ्नै बलमा क्याच आउट गराए । ८.२ मा ५ रन बनाएका लोकेश बम अभिनाष बोहोराको बलमा दीपेन्द्रले क्याच लिए। ९.१ मा हर्मितले नारायण जोशीलाई बोल्ड गरे।

विराटनगरले १० ओभरको समाप्तिमा ६ विकेट गुमाएर ५७ रन जोड्यो। १०.५ ओभरमा २९ बलमा ३ चौका र १ छक्का प्रहार गरेका फाफ डु प्लेसिसले ३६ हेमन्त धामीको बलमा क्याच आउट भए।

११.१ ओभरमा प्रतिश जिसी र आउट हुँदा विराटनगर ८ विकेटको नोक्सानीमा ५९ को अवस्थामा रह्यो । १३.२ ओभरमा मर्चेन्ट डि लाङ्गे १५ रनमा कुगेलेइनको बलमा हर्मितद्वारा क्याच भए। १४.१ ओभरमा अन्तिम विकेटका रुपमा अभिनाषले सन्दीप लामिछानेको विकेट।

सुदूरपश्चिमका कुगेलेइन, हर्मित र अभिनाषले समान २ तथा दीपेन्द्र हेमन्तले समान १ विकेट लिए।

कीर्तिपुरस्थित टियु मैदानमा त्यसअघि विराटनगर किङ्सले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको नोक्सानीमा १ सय ५५ रन बनायो ।

सुदूरपश्चिमलाई विराटनगरले दबाबमा राखेको थियो। यद्दपी लामो समय ब्याटिङ गरेका ओपनर विनोद भण्डारीले अर्धशतक पूरा गर्दै धर्यतापूर्वक एउटा एन्ड सम्हाले । सुदूरपश्चिमले पावर प्लेमा १ विकेटको क्षतिमा ४२ रन बनायो ।

तेस्रो ओभरमा पाँचौं बलमा लाङ्गेले मुख्तार अहमद १० को विकेट लिए । सूर्य तामाङले ७.५ ओभरमा २० रन बनाएका सेल्डन ज्याक्सनलाई आउट गरे। २९ रनमा विनोदलाई बसिर अहमदले जीवन दान दिए। नरेन भट्टको बलमा उनले क्याच ड्रप गरे।

१० ओभरको समाप्तिमा सुदूरपश्चिमले २ विकेटको क्षतिमा ७७ रन बनाएको थियो। १३.५ ओभरमा हेजलेटको बलमा इशान पाण्डे १३ रन बनाएर आउट भए । उनको मुस्किल क्याच नरेन भट्टले लिए।

१३.४ ओभरमा ३ रन बनाएका दीपेन्द्र लाङ्गेद्वारा रन आउट भए। विनोदले ४४ बलमा ३ चौका र १ छक्का दोस्रो अर्धशतक पूरा गरे।

१६.३ओभरमा प्रतिशले हर्मितलाई १४ रनमा आउट गरे। १८.५ ओभरमा ६३ रनमा विनोद प्रतिशको बलमा आउट भए । २० रन बनाएका आरिफ १९.४ ओभरमा लाङ्गेको बलमा आउट भए।

लाङ्गे र प्रतिशले समान २ तथा सूर्य र साम हेजलेटले समान १ विकेट लिए। किफायती बलिङ गरेका कप्तान सन्दीप लामिछाने विकेट लिन सकेनन् । उनले ४ ओभरमा १६ रन मात्र खर्चे । यसअघि उनले सबै खेलमा गरि १५ विकेट लिएका थिए।

एनपिएलमा भोलि काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच एलिमिनेटर खेल हुनेछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ।