२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

अमेरिकामा ट्रम्पको कठोर आप्रवासन अभिव्यक्ति: “नरकजस्ता देशबाट आप्रवासन रोक्ने” घोषणा

अमेरिकामा ट्रम्पको कठोर आप्रवासन अभिव्यक्ति: “नरकजस्ता देशबाट आप्रवासन रोक्ने” घोषणा

पेन्सिल्भेनिया- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्सिल्भेनियामा आयोजित सभामा सोमालियालगायत केही राष्ट्रका आप्रवासीलाई लक्षित गर्दै अपमानजनक शब्द प्रयोग गरेका छन्। उनले अफगानिस्तान, हैटी, सोमालिया लगायतका देशलाई “नरकजस्ता” भन्दै तिनबाट हुने आप्रवासन स्थायी रूपमा रोक्ने घोषणा गरे।

ट्रम्पले सन् २०१८ मा सिनेटरहरूसँगको बैठकमा प्रयोग गरेको “शिथोल देशहरू” भन्ने शब्दलाई पुनः स्मरण गर्दै, “किन हामी सधैं त्यस्ता देशबाट मात्र मानिस लिन्छौँ?” भन्दै युरोपेली राष्ट्रबाट आप्रवासी ल्याउनुपर्ने टिप्पणी गरे।

सभामा उनले सोमालियाका आप्रवासीलाई “फोहोर, अपराधले ग्रसित” भन्दै आलोचना गरे। व्हाइट हाउसकी प्रवक्ता एबिगेल ज्याक्सनले ट्रम्पको समर्थन गर्दै, “अमेरिकामा आएर योगदान नगर्ने र समाजमा मिसिन अस्वीकार गर्ने आप्रवासी यहाँ हुनु हुँदैन” भनिन्।

यसअघि २०१८ मा ट्रम्पको उक्त शब्द प्रयोगले अन्तर्राष्ट्रिय स्तरमा आलोचना खेपेको थियो। बोट्स्वानाले यसलाई “जातीय भेदभावपूर्ण” भन्दै निन्दा गरेको थियो।

ट्रम्पले हाल मिनेसोटामा रहेका सोमालियाली आप्रवासीलाई लक्षित गर्दै “उनीहरूले देश नष्ट गरेका छन्” भन्दै कठोर टिप्पणी गरेका छन्। यसैबीच, संघीय अधिकारीहरूले मिनियापोलिसमा आप्रवासन कारबाही सुरु गरेका छन्।

सभामा ट्रम्पले डेमोक्र्याट सांसद इल्हान उमरलाई पनि निशाना बनाए। उनले उमरको हिजाबलाई “टर्बन” भन्दै “सेन्ड हर ब्याक” भन्ने नारालाई प्रोत्साहन गरे।

उमरले सामाजिक सञ्जाल एक्स मा प्रतिक्रिया दिँदै लेखिन्, “ट्रम्पको मेरो प्रति अस्वाभाविक मोह हास्यास्पद छ। आर्थिक नीति नभएकाले उनी जातीय घृणामूलक झूट दोहोर्याइरहेका छन्।”