२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

ट्रम्पको आप्रवासन नीतिले बाल हेरचाह उद्योगमा गहिरो असर

ट्रम्पको आप्रवासन नीतिले बाल हेरचाह उद्योगमा गहिरो असर

वासिङटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक निर्वासन अभियानले बाल हेरचाह उद्योगमा ठूलो प्रभाव पारेको छ। आप्रवासी श्रमिकमा निर्भर यो क्षेत्र पहिले नै जनशक्ति अभावले ग्रस्त थियो, तर हाल थप त्रास र असुरक्षाले वातावरण बदलिएको छ।

वाशिङ्टनस्थित सेन्ट्रोनिया द्विभाषिक प्रि–स्कूलले आईसीई अधिकारीहरू विद्यालयमा प्रवेश गर्न सक्ने सम्भावनामा अभ्यास सुरु गरेको छ। शिक्षकहरूले बच्चालाई पार्क वा पुस्तकालय लैजाने कार्यक्रम बन्द गरेका छन्। अक्टोबरमा शिकागोमा एक शिक्षकलाई प्रि–स्कूलको प्रवेशद्वारमै पक्राउ गरिँदा आप्रवासी शिक्षक र अभिभावकहरू अझै त्रसित बने।

अमेरिकाको करिब पाँचमा एक बाल हेरचाह श्रमिक विदेशमा जन्मिएका हुन्, ठूलो शहरहरूमा यो अनुपात अझ बढी छ। लातिन अमेरिकी शिक्षकहरूले स्पानिश भाषा प्रि–स्कूलको माग पूरा गर्दै आएका छन्। अध्ययनअनुसार तीन चौथाइभन्दा बढी आप्रवासी शिक्षक कानूनी रूपमा अमेरिका बसोबास गर्दै आएका छन्।

तर ट्रम्प प्रशासनले अस्थायी संरक्षित दर्जा अन्त्य गर्दा हजारौं आप्रवासी शिक्षकले रोजगारी गुमाएका छन्। सेन्ट्रोनियाले दुई कर्मचारी गुमाएको छ भने अन्य प्रि–स्कूलहरूले दर्जनौं शिक्षक गुमाएका छन्।

आईसीईको उपस्थितिले कानूनी रूपमा बसोबास गर्ने शिक्षकहरूलाई समेत मानसिक दबाबमा पारेको छ। केहीलाई सडकमा वा काममा जाँदै गर्दा रोकेर सोधपुछ गरिएको छ। यसले शिक्षकहरूमा त्रास, स्वास्थ्य समस्या र मानसिक तनाव बढाएको छ।

ओरेगनको पोर्टल्यान्डस्थित गाइडपोस्ट मोंटेसरी विद्यालयमा आईसीई कारबाहीपछि बालबालिकामा समेत असर देखिएको छ। विद्यालय लकडाउन हुँदा बच्चाहरूमा डर, आक्रोश र असामान्य व्यवहार बढेको शिक्षकहरूले बताएका छन्।

शिक्षकहरूको भनाइमा, “यदि शिक्षकहरू ठीक छैनन् भने बच्चाहरू पनि ठीक हुँदैनन्।” यसले देखाउँछ कि आप्रवासन नीतिले केवल वयस्कलाई मात्र होइन, बालबालिकाको शैक्षिक वातावरणलाई समेत अस्थिर बनाइरहेको छ।