अमेरिका प्रवेश गर्न विदेशी पर्यटकले पाँच वर्षको सामाजिक सञ्जाल विवरण दिनुपर्ने
- २५ मंसिर २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- ट्रम्प प्रशासनले भिसा वेभर कार्यक्रमअन्तर्गतका ४२ देशका यात्रुहरूलाई अमेरिका प्रवेश गर्न पाँच वर्षको सामाजिक सञ्जाल विवरण अनिवार्य गर्ने योजना सार्वजनिक गरेको छ। फेडरल रजिस्टर मा मंगलबार प्रकाशित सूचनाअनुसार यो नयाँ नियम इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथराइजेशन पूरा गर्न आवश्यक हुनेछ।
यस प्रस्तावले बेलायत, जर्मनीलगायत भिसा वेभर देशका नागरिकलाई अतिरिक्त चुनौती थप्ने देखिएको छ। सामाजिक सञ्जाल विवरणसँगै पाँच वर्षभित्र प्रयोग गरिएका इमेल ठेगाना, फोन नम्बर, परिवारका सदस्यहरूको नाम र ठेगाना पनि मागिने उल्लेख छ।
गृह सुरक्षा विभागले यो प्रस्ताव अन्तिम नभएको स्पष्ट पारेको छ। सीमा सुरक्षा निकायले भने, “यो अमेरिकी जनतालाई सुरक्षित राख्न नयाँ नीति विकल्पबारे छलफल सुरु गर्ने पहिलो कदम मात्र हो।”
अमेरिकाले आगामी वर्ष आयोजना गर्ने फिफा विश्वकपमा सहभागी हुने दर्शकहरूलाई प्राथमिकता दिने भए पनि उनीहरूलाई पनि समान भिसा प्रक्रिया पूरा गर्नुपर्नेछ।
यसअघि जुन महिनामा अमेरिकी विदेश मन्त्रालयले केही भिसा आवेदकलाई सामाजिक सञ्जाल प्रोफाइल सार्वजनिक गर्नुपर्ने नियम ल्याएको थियो। इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेशनले यसलाई अभूतपूर्व कदम भन्दै विदेशी विद्यार्थीहरूको गतिविधि निगरानी गर्ने प्रयास भएको टिप्पणी गरेको थियो।
हालै विदेश मन्त्रालयले एच–१बी भिसा आवेदक र उनका आश्रितहरूलाई समेत ‘अनलाइन उपस्थिति समीक्षा’मा समावेश गर्ने घोषणा गरेको छ। ट्रम्प प्रशासनले कानूनी आप्रवासनमा पनि कडाइ गर्दै अस्थायी संरक्षित दर्जा अन्त्य गर्ने, विरोध प्रदर्शनमा सहभागी भएका केही व्यक्तिको भिसा खारेज गर्ने जस्ता कदम चालेको छ।