२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’

नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’

सिड्नी- अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले नेपाली विद्यार्थी श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’ प्रदान गरेको छ। काठमाडौँका २२ वर्षीय श्रेष्ठले स्नातक तहमा अध्ययनरत रहँदै एआई प्रविधि प्रयोग गरेर खानी तथा भारी उद्योगमा सहयोग पुर्याउने सञ्चार उपकरण विकास गरेका थिए।

श्रेष्ठसहितको टोलीले तयार पारेको ‘एआई मोड्युल’ एनालग रेडियो नेटवर्कमा जोडिएपछि सुरुङमा काम गर्ने मजदुर र एआई एजेन्टबीच वाकी–टकीमार्फत प्रत्यक्ष संवाद गर्न सकिने सुविधा दिन्छ। यसले महँगो पूर्वाधारको आवश्यकता बिना नै प्राविधिक डेटा, सुरक्षा प्रोटोकल र अन्य जानकारी छिटो उपलब्ध गराउने क्षमता राख्छ।

विश्वविद्यालयको रजत जयन्ती अवसरमा आयोजित विशेष कार्यक्रममा करिब ३०० उद्योगी–व्यावसायीको उपस्थितिमा श्रेष्ठले पूर्ण खानी सुरक्षा पोशाक लगाएर प्रविधिको प्रत्यक्ष प्रदर्शन गरेका थिए। सम्मानित भएपछि उनले मेहनतका साथ अध्ययन गरेर नेपाल र नेपालीको प्रतिष्ठा बढाउन सफल भएको प्रतिक्रिया दिए।

सन् २००१ देखि सुरु भएको यो कार्यक्रमले नवप्रवद्र्धन, उद्यमशीलता र स्टार्टअपलाई प्रोत्साहन गर्दै १,१०० भन्दा बढी नयाँ उद्यमलाई सहयोग पुर्याएको विश्वविद्यालयले जनाएको छ।