२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

अन्तरराष्ट्रिय पर्वत दिवस : हिमनदी पग्लिँदा बढ्दो जोखिम र संरक्षणको आवश्यकता

अन्तरराष्ट्रिय पर्वत दिवस : हिमनदी पग्लिँदा बढ्दो जोखिम र संरक्षणको आवश्यकता

काठमाडौँ- विश्वभर आज अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदैछ। हिमनदी पग्लिँदा पर्वतीय जीवनमा पर्ने असर, विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने उद्देश्यले सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा यो दिवस मनाइँदै आएको हो।

रोमस्थित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)मा पर्वतीय जीवन, हिमनदी तथा वातावरणसम्बन्धी प्रवचन, प्रदर्शनीलगायत कार्यक्रम आयोजना भइरहेको छ।

राष्ट्रसङ्घका अनुसार विश्वको करिब दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन्। तर पछिल्ला वर्षहरूमा पर्वतीय वातावरण तीव्र जोखिममा परेको छ। हिमनदीहरू द्रुत गतिमा पग्लिँदै गएका छन् र तापक्रम बढिरहेकाले अझ धेरै हिमनदी हराउने सम्भावना छ।

विश्वको करिब एक करोड ५० लाख जनसङ्ख्या हिमनदी पग्लेर बनेका ताल फुट्ने सम्भावित जोखिममा संवेदनशील अवस्थामा छन्। यस दिवसले यस्ता चुनौतीबारे चेतना जगाउँदै पर्वत संरक्षण, दिगो विकास र सुरक्षित भविष्यका लागि सहकार्यमा जोड दिएको छ।