२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडाच्याङ्ग्राको मृत्यु

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडाच्याङ्ग्राको मृत्यु

काठमाडौं – मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फामा हिउँ चितुवाको आक्रमणबाट १९ वटा भेडाच्याङ्ग्रा मरेका छन्। मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकको गाउँभित्र रहेको स्थानीय किसान सन्तोष परियारको खोरमा गएराति हिउँ चितुवा पसेर एकैपटक ठूलो संख्यामा भेडाच्याङ्ग्रा मारेको हो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार परियारको खोरमा ४५ वटा भेडाच्याङ्ग्रा रहेकामा तीमध्ये १६ भेडा र तीन च्याङ्ग्रासहित १९ वटा पशुधनको मृत्यु भएको छ। प्रारम्भिक अनुमान अनुसार सो घटनाबाट करिब छ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।

गुप्ताले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमको टोली र जिल्ला प्रहरी कार्यालय मुस्ताङको टोली घटनास्थलतर्फ गइरहेको जानकारी दिए।

पछिल्लो समय मुस्ताङसहितका हिमाली क्षेत्रहरूमा मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढ्दै गएको सरोकारवालाहरूले बताएका छन्। हिउँदयाममा उच्च भागका चरन क्षेत्रमा घाँस र बुट्यानको अभाव हुँदा हिउँ चितुवाको आहाराका वन्यजन्तु बस्ती नजिकका चरनस्थलतर्फ झर्ने र तीको पछ्याउदैँ हिउँ चितुवा समेत बस्ती नजिक आउने गरेको देखिन्छ। यस क्रममा स्थानीयवासीका भेडाच्याङ्ग्रा लगायतका पशुधन हिउँ चितुवाको आक्रमणको मुख्य सिकार बन्ने गरेको एक्यापको अध्ययनले देखाएको छ।

जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा देखिएका प्रभावले हिउँ चितुवा र स्थानीय समुदायबीच सहअस्तित्व कायम गर्न थप चुनौती निम्त्याएको विज्ञहरूको निष्कर्ष छ। यस्ता घटनामा वृद्धि हुँदै गएपछि जिल्लाका केही किसानले पशुपालन व्यवसाय त्याग्न थालेको स्थानीय तहले जनाएको छ।