२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

नौ अमेरिकी राज्यमा होम डिपोट लुट्ने समूह न्यूयोर्कमा पक्राउ, २२ लाख डलरको सामान चोरी

नौ अमेरिकी राज्यमा होम डिपोट लुट्ने समूह न्यूयोर्कमा पक्राउ, २२ लाख डलरको सामान चोरी

न्यूयोर्क- न्यूयोर्कको क्विन्स केन्द्रित एक संगठित चोरी गिरोहले नौ वटा अमेरिकी राज्यका कम्तीमा १२८ होम डिपोट स्टोरबाट करिब २२ लाख डलर बराबरका सामग्री चोरी गरेको आरोपमा १३ जना पक्राउ परेका छन्।

क्विन्स डिष्टिक अटर्नी कार्यालय र राज्य प्रहरीको संयुक्त अनुसन्धानबाट “अपरेशन सेल्फ चेकआउट” नाम दिइएको विशेष अभियानमार्फत यो गिरोह पक्राउ गरिएको हो। अनुसन्धानकर्ताका अनुसार उक्त समूहले ३१९ वटा छुट्टाछुट्टै चोरी घटना गरेको दाबी गरिएको छ।

सर्भिलान्स क्यामेरामा अभियुक्तहरू होम डिपोटका शेल्फबाट सामान निकालेर ठूलो डब्बा वा प्यालेटमा राखी, बिल तिरेनै सिधै स्टोरबाट बाहिर धकेलेर लगेको दृश्य फेला परेको छ। बरामद सामानमा पावर ड्रिल, टेप मेजर, धुवाँ सतर्कता यन्त्र (स्मोक अलार्म), एयर कनडिशनरलगायत विभिन्न गृह उपयोगी उपकरणहरू रहेका छन्।

क्विन्स जिल्ला अभियोजक मेलिन्डा क्याट्जका अनुसार गिरोह उच्च स्तरमा संगठित थियो र प्रायः दैनिक रूपमा चोरी दोहोर्याइन्थ्यो। उनका शब्दमा, “हामीले अहिलेसम्म अभियोजन गरेकोमध्ये यो सबैभन्दा ठूलो र निर्लज्ज खुद्रा चोरी श्रृंखला हो।” न्यूयोर्ककी गभर्नर क्याथी होकुलले खुद्रा चोरीका कारण सामान्य इमानदार उपभोक्ताले महँगो मूल्य तिर्न बाध्य हुने भएकाले वास्तविक पीडित सर्वसाधारण भएको टिप्पणी गरेकी छन्।

अनुसन्धान अनुसार गिरोहका सदस्यहरू दैनिक बिहान करिब ५ बजे क्विन्स सेन्टर मल नजिकको पार्किङमा भेला हुन्थे। क्विन्सलाई आधार मानेर उनीहरू दिनहुँ फरक–फरक राज्य र स्टोरमा पुगेर चोरी गर्थे। कुन होम डिपोटमा गएर चोरी गर्ने भन्ने निर्णय अघिल्लो साँझ अनलाइनमार्फत इनभेन्टरी (भण्डारण) जाँचेर लगाइने गरेको अभियोजक क्याट्जले बताइन्।

मुख्य अभियुक्त मानिएका आर्मान्डो डियाजसहित १३ जनामाथि ठूला परिमाणको चोरी (ग्रान्ड लार्सनी) लगायतका अभियोग लगाइएको छ। राज्य प्रहरीका अनुसार चोरी गरिएका सामग्री शहरमै ल्याई गोदाम वा अपार्टमेन्टमा राखी अनलाइनमार्फत पुनः बिक्री गरिन्थ्यो। एक दिनमै चोरी हुने रकम करिब १,८०० डलरदेखि ३५,००० डलरसम्म रहने गरेको अनुमान छ।

सम्बन्धित निकायले हालसम्म करिब १५ लाख डलर बराबरका चोरीका सामान फिर्ता बरामद गरिसकेको जनाएको छ। अभियोग प्रमाणित भएमा प्रमुख रिङ लिडरहरूले अधिकतम २५ वर्ष कैद सजाय सामना गर्नुपर्नेसमेत बताइएको छ।