२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

ट्रम्पले युद्धविराम भएको बताए पनि थाई–क्याम्बोडिया द्वन्द्व जारी

ट्रम्पले युद्धविराम भएको बताए पनि थाई–क्याम्बोडिया द्वन्द्व जारी

न्युयोर्क- थाईल्यान्ड र क्याम्बोडियाबीचको सीमा क्षेत्रमा शनिवार बिहान पनि भीषण लडाइँ जारी छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देश युद्धविराममा सहमत भएको घोषणा गरे पनि वास्तविकता फरक देखिएको छ।

थाई प्रधानमन्त्री अनुतिन चर्नविराकुलले युद्धविराम सम्भव हुन क्याम्बोडियाले आफ्ना सेना फिर्ता गर्नुपर्ने र बारुदी सुरुङ हटाउनुपर्ने शर्त राखेका छन्। उनले सामाजिक सञ्जालमार्फत “जबसम्म हाम्रो भूमि र जनतालाई खतरा रहन्छ, सैन्य कारबाही जारी रहनेछ” स्पष्ट पारे।

रातभर चलेको गोलाबारीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दुवै देशका करिब ७ लाख नागरिक सुरक्षित स्थानमा सारिएका छन्। क्याम्बोडियाले शनिवार थाई सेनाले एफ–१६ लडाकु विमान प्रयोग गरी सात बम खसालेको दाबी गरेको छ।

दुवै पक्षले आक्रमण सुरु गरेको आरोप एक अर्कामाथि लगाइरहेका छन्। जुलाईमा क्याम्बोडियाले रकेट प्रहार गरेपछि विवाद चर्किएको थियो। त्यसको जवाफमा थाईल्यान्डले हवाई आक्रमण गरेको थियो।

गत अक्टोबरमा अमेरिकी राष्ट्रपति ट्रम्प र मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमको मध्यस्थतामा ‘निसर्त युद्धविराम’ गर्ने सहमति भएको थियो। तर त्यसयता दुवै पक्षले सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन्।

सीमा विवादको इतिहास सन् १९०७ मा फ्रान्सेली मानचित्रकारहरूले निर्धारण गरेको सीमासम्म पुग्छ। सन् २००८ मा विवादित भूभागमा रहेको प्राचीन मन्दिरलाई यूनेस्को विश्व सम्पदा सूचीमा दर्ता गर्ने प्रयासपछि विवाद झन् चर्किएको थियो। त्यसयता सैनिक भिडन्त र नागरिक क्षति निरन्तर भइरहेका छन्।