अमेरिकामा नागरिकता पाउने अन्तिम चरण कठिन : ट्रम्प प्रशासनको नयाँ नीतिले असर
- २८ मंसिर २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क – अमेरिकामा स्थायी बसोबास (ग्रीन कार्ड) प्राप्त गरेका धेरै आप्रवासीहरूको नागरिकता पाउने अन्तिम चरण हाल कठिन बनेको छ। ट्रम्प प्रशासनले १९ वटा ‘उच्च जोखिम’ देशका आवेदकहरूको नागरिकता र ग्रीन कार्ड प्रक्रिया अनिश्चितकालका लागि रोक्दा हजारौं प्रभावित भएका छन्।
यी देशमा क्युबा, इरान, हैटी, सोमालिया, लाओस, म्यानमार लगायत परेका छन्। नागरिकता लिन चाहनेहरूले पहिले नै विस्तृत पृष्ठभूमि जाँच, अन्तर्वार्ता, अंग्रेजी र नागरिक शिक्षा परीक्षा पास गर्नुपर्छ। तर अब अन्तिम चरणमा हुने शपथ समारोह नै अचानक रद्द गरिँदैछ।
यससँगै प्रशासनले नागरिकता तयारी गर्ने संस्थाहरूलाई दिइने अनुदान कटौती, सामाजिक सञ्जालमा कडा निगरानी, आवेदकको ‘नैतिक चरित्र’ जाँच गर्न छिमेकी र सहकर्मीहरूसँग अन्तर्वार्ता, र कठिन नागरिक शिक्षा परीक्षा लागू गरेको छ।
फ्लोरिडा र म्यासाचुसेट्समा केही आप्रवासीहरू शपथ समारोहको दिनै लाइनबाट हटाइएका छन्। न्यूयोर्कका सात काउन्टीमा अदालतमा हुने नागरिकता समारोह रद्द भएपछि जनआक्रोशले केही पुनःस्थापित भए पनि फेरि रद्द भएका छन्।