२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

ट्रम्प प्रशासनद्धारा जनवरीदेखि अहिलेसम्म ८५ हजार भिसा खारेज

ट्रम्प प्रशासनद्धारा जनवरीदेखि अहिलेसम्म ८५ हजार भिसा खारेज

वासिङटन- अमेरिकी विदेश मन्त्रालयका अनुसार ट्रम्प प्रशासनले यस वर्ष जनवरीदेखि हालसम्म ८५ हजार भिसा खारेज गरेको छ, जुन गत वर्षको तुलनामा दोब्बर हो। यसमा ८ हजारभन्दा बढी विद्यार्थी भिसा पनि समावेश छन्।

मन्त्रालयका अधिकारीले आधा भिसा खारेजको कारण मद्यपान गरेर गाडी चलाउने, आक्रमण तथा चोरीजस्ता अपराध रहेको बताए। बाँकी कारणबारे विस्तृत विवरण नदिइए पनि विगतमा भिसा अवधि समाप्त हुनु वा आतंकवादलाई समर्थन गर्नु जस्ता कारण देखाइएको थियो।

यस कदमले अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी चिन्ता बढाएको छ, किनकि प्रशासनले गाजा युद्धविरुद्ध प्रदर्शनमा सक्रिय अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरेको आरोप छ। अक्टोबरमा मन्त्रालयले चार्ली किर्कको हत्या ‘उत्सव’ मनाएको भनिएका केही विद्यार्थीको भिसा पनि खारेज गरेको थियो।

अगस्तमा मन्त्रालयले ५५ मिलियनभन्दा बढी वैध अमेरिकी भिसा भएका विदेशी नागरिकलाई ‘निरन्तर निगरानी’ गर्ने नीति ल्याउने घोषणा गरेको थियो।

राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालमा भिसा आवेदकलाई अस्वीकार गर्ने वा कडाइका साथ जाँच गर्ने मापदण्ड व्यापक बनाइएको छ। हालैको कूटनीतिक निर्देशनअनुसार सामग्री नियमन वा तथ्य-जाँचमा संलग्न व्यक्तिलाई एच–१बी भिसामा ‘उन्नत छानबिन’ गरिने उल्लेख छ।

विद्यार्थी भिसा आवेदकलाई सामाजिक सञ्जाल प्रोफाइल सार्वजनिक गर्नुपर्ने नियम पनि लागू गरिएको छ।

यससँगै गृह सुरक्षा विभागले आक्रामक रूपमा हिरासत तथा निर्वासन अभियान चलाइरहेको छ। शरणार्थी पुनर्वास कार्यक्रम लगभग स्थगित गरिएको छ र बाइडेन प्रशासनअन्तर्गत आएका शरणार्थीहरूको पुनः समीक्षा हुने बताइएको छ।

यस वर्षको सुरुवातमा १९ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाइएको थियो। हालैको घटनापछि गृह सुरक्षा सचिव क्रिस्टि नोएमले प्रतिबन्धित देशको सूची ३०–४० सम्म बढाउन सिफारिस गर्ने तयारी गरेको समाचार आएको छ।