२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

हार्वर्ड मेडिकल स्कूलको पूर्व शवगृह व्यवस्थापकलाई शरीरका अंग बेच्ने अपराधमा ८ वर्ष जेल सजाय

हार्वर्ड मेडिकल स्कूलको पूर्व शवगृह व्यवस्थापकलाई शरीरका अंग बेच्ने अपराधमा ८ वर्ष जेल सजाय

न्युयोर्क- हार्वर्ड मेडिकल स्कूलको शवगृह व्यवस्थापक रहिसकेका सेड्रिक लजलाई मृत शरीरका अंग चोरी गरी बेच्ने अपराधमा अमेरिकी अदालतले आठ वर्षको जेल सजाय सुनाएको छ।

५८ वर्षीय लजले दुई दशकभन्दा बढी समय शवगृह व्यवस्थापन गरेका थिए। उनी सन् २०२३ मा पक्राउ परेका थिए। अभियोजन पक्षका अनुसार उनले शवगृहमा राखिएका अनुसन्धानका लागि दान गरिएका शवहरूबाट टाउको, अनुहार, मस्तिष्क, छाला र हातजस्ता अंगहरू निकालेर आफ्नै घरमा लगेर बेच्ने काम गरेका थिए।

लजकी पत्नी डेनिसलाई पनि यस अपराधमा संलग्न भएको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको छ। उनीहरूले अंगहरू पेनसिल्भेनियाका व्यक्तिहरूसहित विभिन्नलाई बेचेका थिए, जसले फेरि ती अंगहरू पुनः बिक्री गरेका थिए।

अभियोजन पक्षले लजलाई अधिकतम १० वर्षको सजाय माग गर्दै “यस अपराधले मृत व्यक्तिका परिवारलाई गहिरो भावनात्मक पीडा दिएको छ” भनेका थिए।

हार्वर्ड मेडिकल स्कूलले यसबारे हालसम्म कुनै टिप्पणी गरेको छैन, तर यसअघि लजको कार्यलाई “घृणित र संस्थाका मूल्य तथा मान्यतासँग असंगत” भनेको थियो।

गत अक्टोबरमा अमेरिकी अदालतले मृतकका परिवारलाई हार्वर्ड मेडिकल स्कूलविरुद्ध मुद्दा दायर गर्न सक्ने आदेश दिएको थियो। अदालतले यस घटनालाई “वर्षौँसम्म चलेको भयावह योजना” भनेर वर्णन गरेको थियो।