इजरायलले प्रवेश रोक्दा क्यानाडेली सांसद जेनी क्वानको आपत्ति : ‘सांसदहरू कसरी सार्वजनिक सुरक्षा जोखिम हुन सक्छन्?’
- ०२ पुस २०८२
- १ मिनेटको पढाई
क्यानाडा- क्यानाडेली सांसद जेनी क्वानलाई इजरायलले कब्जामा रहेको पश्चिम तट (वेस्ट बैंक) प्रवेशमा रोक लगाएपछि उनले इजरायलको ‘सुरक्षा चिन्ता’ भन्ने दाबीलाई अस्वीकार गरेकी छन्।
क्यानाडाको न्यू डेमोक्र्याटिक पार्टी (NDP)की सांसद क्वानसहित ३० सदस्यीय प्रतिनिधिमण्डललाई मंगलबार इजरायली सीमा अधिकारीहरूले सार्वजनिक सुरक्षामा खतरा भएको भन्दै जोर्डन फर्काइएका थिए। यो टोली द क्यानाडियन–मुस्लिम भोट नामक संस्थाले आयोजना गरेको भ्रमणमा सहभागी थियो।
क्वानले अल–जजिरासँगको अन्तर्वार्तामा भनिन्, “सांसदहरू सार्वजनिक सुरक्षा जोखिम कसरी हुन सक्छन्? मानवीय कार्यमा संलग्न नागरिक समाज संस्थाहरू सुरक्षा चिन्ता कसरी हुन सक्छन्?” उनले अर्को महिला सांसदलाई इजरायली सीमा सुरक्षाकर्मीहरूले पटक–पटक धकेलेको घटनाबारे पनि जानकारी दिइन्।
प्रतिनिधिमण्डलले वेस्ट बैंकमा स्थानीय समुदायसँग भेटघाट गरी दैनिक जीवनका कठिनाइबारे बुझ्ने, साथै यहूदी परिवारहरूसँग पनि संवाद गर्ने योजना बनाएको थियो। क्वानले यसलाई तथ्य–सङ्कलन यात्रा (fact-finding mission) भनेकी छन्।
क्यानाडाको परराष्ट्र मन्त्रालयले घटनाप्रति ‘दुःख’ व्यक्त गर्दै टोली स्वतन्त्र रूपमा यात्रा गरेको र क्यानाडा सरकारको आधिकारिक प्रतिनिधित्व नगरेको स्पष्ट पारेको छ। मन्त्री अनिता आनन्दले भने क्यानाडाले आफ्ना नागरिकमाथि भएको दुर्व्यवहारबारे आपत्ति जनाएको बताइन्।
इजरायली सैन्य निकाय COGATले टोलीलाई ‘पूर्व–समन्वय बिना आएको’ भन्दै प्रवेश अस्वीकार गरिएको बताएको छ। तर क्वानले टोलीले इजरायल इलेक्ट्रोनिक ट्राभल अथोराइजेशन प्राप्त गरेको र क्यानाडा सरकारले पनि योजनाबारे जानकारी गराएको दाबी गरिन्।
क्यानाडाले यस वर्ष स्वतन्त्र फिलिस्तीनी राज्यलाई मान्यता दिएको थियो, जसपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसंघमा क्यानाडामाथि आक्रोश व्यक्त गरेका थिए।
क्वानले अन्त्यमा भनिन्, “यदि सांसदहरूलाई नै प्रवेश अस्वीकार गरिन्छ भने सामान्य नागरिकले भोगिरहेको कठिनाइ कस्तो होला भन्ने कुरा कल्पना गर्न सकिन्छ।”