४ चैत्र २०८२, बुधबार
18 March 2026, Wednesday

फिफाले विश्वकप टिकट मूल्य घटायो, ६० डलरमै अन्तिम खेल हेर्ने अवसर

फिफाले विश्वकप टिकट मूल्य घटायो, ६० डलरमै अन्तिम खेल हेर्ने अवसर

न्युयोर्क- फिफाले विश्वव्यापी आलोचना र समर्थकहरूको आक्रोशपछि आगामी उत्तर अमेरिकामा हुने विश्वकपका केही टिकट मूल्य घटाउने घोषणा गरेको छ। अब निष्ठावान समर्थकहरूले अन्तिम खेलसम्मका टिकट ६० डलरमै पाउनेछन्, जुन पहिले ४,१८५ डलर तोकिएको थियो।

फिफाले प्रत्येक खेलका लागि सयौँ संख्यामा “Supporter Entry Tier” श्रेणीका टिकट उपलब्ध गराउने बताएको छ। यी टिकट सम्बन्धित राष्ट्रिय फुटबल महासङ्घमार्फत वितरण गरिनेछन्, जसले आफ्ना टिमलाई घर वा बाहिर निरन्तर समर्थन गर्ने प्रशंसकलाई प्राथमिकता दिनेछ।

यसअघि फिफाले सबैभन्दा सस्तो टिकट १२० देखि २६५ डलर तोकेको थियो, जसले सहभागी टिमका समर्थकलाई न्यूनतम मूल्यमा टिकट नदिएको भन्दै आलोचना भएको थियो। आठ वर्षअघि सह–आयोजक राष्ट्रहरूले २१ डलर टिकट उपलब्ध गराउने वाचा गरेका थिए।

युरोपेली समर्थकहरू विशेषगरी “डाइनामिक प्राइसिङ” र पुनः बिक्री प्लेटफर्ममा अतिरिक्त शुल्कबारे महिनौँदेखि असन्तुष्ट थिए। गत हप्तामा निष्ठावान प्रशंसकलाई सस्तो टिकट नदिने निर्णय सार्वजनिक भएपछि आक्रोश झन् बढेको थियो।

फिफाले अर्को कदमस्वरूप जुलाई १९ मा हुने अन्तिम खेलपछि टिकट फिर्ता गर्दा प्रशासनिक शुल्क नलाग्ने घोषणा पनि गरेको छ।

यस विश्वकपमा पहिलोपटक ४८ टिम सहभागी हुनेछन्। खेलहरू अमेरिका, क्यानाडा र मेक्सिकोका १६ सहरमा हुनेछन्। उद्घाटन खेल जुन ११ मा मेक्सिको सिटीमा मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ भने अन्तिम खेल जुलाई १९ मा न्यू जर्सीमा हुनेछ।