ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर
- ०२ पुस २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी नेशनल इन्स्टिच्युट अफ हेल्थ (NIH) की पूर्व शीर्ष अधिकारी डा. जीन मर्राज्जोले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेकी छन्। उनले स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जुनियरले आफूलाई अवैध रूपमा बर्खास्त गरेको आरोप लगाएकी छन्।
मर्राज्जोले मार्चमा अनिश्चितकालीन अवकाशमा पठाइएकी थिइन्। उनले बालबालिकाका लागि फ्लु भ्याक्सिनको महत्वबारे प्रश्न उठाउने र लामो समयदेखि चलिरहेका क्लिनिकल परीक्षणहरू रद्द गर्ने प्रशासनिक निर्णयविरुद्ध आवाज उठाएको कारण आफूलाई हटाइएको बताएकी छन्। अक्टोबरमा उनले सार्वजनिक रूपमा आफ्नो चिन्ता व्यक्त गरेपछि प्रतिशोधस्वरूप बर्खास्त गरिएको दाबी गरेकी छन्।
उनले विज्ञप्तिमा भनिन्, “HHS नेतृत्वका निर्णयहरूले जनस्वास्थ्यलाई जोखिममा पारेका छन् र अर्बौँ डलर नष्ट गरेका छन्। यसले दशकौँसम्म अमेरिकीहरूको सुरक्षामा गम्भीर असर पार्नेछ।”
उनका आरोपहरू मुख्यत: डा. म्याथ्यु मेमोलीमाथि केन्द्रित छन्, जसले यस वर्ष NIH को कार्यकारी निर्देशकको रूपमा काम गरेका थिए। मर्राज्जोले मेमोलीले “स्वस्थ जनसंख्या भएमा भ्याक्सिन आवश्यक छैन” भन्ने विचार व्यक्त गरेको र NIH ले भ्याक्सिनमा ध्यान दिनु नपर्ने भनाइ दिएको आरोप लगाएकी छन्।
HHS प्रवक्ताले भने मेमोलीलाई बचाउ गर्दै “उनी प्रशासनको भ्याक्सिन प्राथमिकतासँग पूर्ण रूपमा मेल खाने र प्रमाणमा आधारित विज्ञानलाई समर्थन गर्ने” बताएका छन्।
मर्राज्जो सन् २०२३ मा डा. एन्टोनी फाउचीको उत्तराधिकारी बनेकी थिइन्। उनले सेप्टेम्बरमा Office of Special Counsel मा औपचारिक रूपमा व्हिसलब्लोअर उजुरी दर्ता गरेकी थिइन्। तर हाल अदालतमा मुद्दा दायर गर्दै उनले ट्रम्प प्रशासनका कदमहरूले संघीय निकायहरूको स्वतन्त्रता नष्ट गरेको र आफ्नो उजुरी निष्पक्ष रूपमा छानबिन हुन नसक्ने बताएकी छन्।