२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा

एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षमा पुनः निर्वाचित केपी शर्मा ओली लामो संघर्षपूर्ण राजनीतिक यात्राबाट मुलुकको केन्द्रमा स्थापित नेता बनेका छन्। झापा आन्दोलनको नेतृत्व गर्दै भूमिगत जीवन, जेल–नेल र कठोर यातना सहनु उनका राजनीतिक उदयका आधार बने।

तेह्रथुमको किसान परिवारमा जन्मिएका ओली बाल्यकालमै मातृस्नेहबाट विमुख भए। हजुरआमाको पालनपोषणमा हुर्किएका उनले किशोरावस्थामै समाजमा विद्यमान असमानता र विभेदबारे प्रश्न उठाउन थाले। २०२३ सालमा मार्क्सवादी अध्ययन दलमा प्रवेश गरेपछि उनको राजनीतिक जीवन औपचारिक रूपमा सुरु भयो।

पञ्चायती शासनविरुद्धको आन्दोलनमा संलग्न रहँदा ओली पटक–पटक गिरफ्तार भए। १४ वर्ष लामो कारावास जीवन बिताएपछि २०४४ सालमा जेलमुक्त भई नेकपा (माले)को केन्द्रीय सदस्य बने। त्यसपछि बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि २०४८ सालमा पहिलो पटक प्रतिनिधिसभामा निर्वाचित भए।

पार्टीभित्र निरन्तर उन्नति गर्दै उनले प्रचार विभाग, संसदीय विभाग, विदेश विभागको जिम्मेवारी सम्हाले। २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको पहिलो निर्वाचित कम्युनिष्ट सरकारमा उनी गृहमन्त्री बने।

२०७१ सालमा पहिलो पटक एमाले अध्यक्ष निर्वाचित भएका ओली २०७२ मा संविधान जारी भएपछि प्रधानमन्त्री बने। २०७४ मा दोस्रो पटक दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गरे। २०७५ मा एमाले–माओवादी एकतापछि पार्टी अध्यक्ष बने तर संसद् विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि सरकारबाट बाहिरिनुपर्‍यो।

पछिल्लो पटक २०८१ मा चौथो पटक प्रधानमन्त्री भए पनि जेनजी आन्दोलनपछि राजीनामा दिनुपर्‍यो। त्यसपछि सम्पन्न ११औँ महाधिवेशनमा प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भए।

ओलीलाई अध्ययनशील, निर्णयमा अडिग, आत्मविश्वासी र हठी नेताका रूपमा चिनिन्छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा बोकेर उनले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायका पक्षमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएका छन्।