रिजवुड नेपाली समाजद्वारा ‘श्री स्वस्थानी व्रत कथा’ यज्ञ आयोजना हुने
- ०८ पुस २०८२
- १ मिनेटको पढाई
दुर्गा मन्दिर निर्माण कार्य सम्पन्न गरेसँगै रिजवुड नेपाली समाजले यस वर्ष पनि हरेक वर्षझैँ “श्री स्वस्थानी व्रत कथा” वाचन कार्यक्रमलाई यज्ञको रूपमा आगामी जनवरी ३ देखि फेब्रुअरी १ सम्म भव्य तयारीका साथ आयोजना गर्ने निर्णय गरेको छ।
न्युयोर्क तथा अमेरिका भरिका नेपाली समुदायलाई जानकारी गराउने उद्देश्यले डिसेम्बर २१, आइतबार विभिन्न समुदायका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थितिमा कार्य विभाजन तथा जिज्ञासामाथि विस्तृत छलफल गरिएको थियो।
कार्य विभाजनअनुसार संयोजकको जिम्मेवारी अमित साहलाई दिइएको छ भने अध्यक्षको भूमिकामा गुरु उद्दब शास्त्री रहनेछन्। वाचकका रूपमा आचार्य गुरु दीपक खराल रहनेछन्। कोषको सम्पूर्ण हिसाब–किताबको जिम्मा तुलसी आचार्यलाई दिइएको छ। अतिथि संयोजन तथा व्यवस्थापनको जिम्मा पुष्पा अधिकारीलाई, भजन–कीर्तनको जिम्मा गोपी ढुड्गानालाई, स्वयंसेवक व्यवस्थापनमा राम बर्तौलालाई र लजिस्टिक व्यवस्थापनमा सुनिता भण्डारीलाई तोकिएको छ। साथै, थप प्रभावकारी बनाउन १०१ सदस्यीय मानार्थ समिति गठन गरिएको छ।

गत वर्ष झण्डै १ लाख ५० हजार डलर भेटी संकलन भएको, करिब २०० जना कर्ता सहभागी भएको र करिब ४ हजार भक्तजनले कथा श्रवण गरेको उल्लेख गर्दै यस वर्ष ती उपलब्धिलाई दोब्बर बनाउने लक्ष्य राखिएको अध्यक्ष राजेश भट्टले जानकारी दिए। समुदायको सर्वसम्मत छनोटमा दोस्रो कार्यकाल सम्हालेका भट्टलाई निर्बिकल्प अध्यक्षका रूपमा लिइएको छ।
करिब ३ मिलियन डलर बराबरको भौतिक संरचना निर्माण गरी सर्वसाधारणको विश्वास जित्न सफल भएको भन्दै समाजले समुदायले दिएको भरोसा र मायालाई ठूलो प्रेरणा मानेको छ। कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले हातेमालो र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
यस वर्षको कार्यक्रमलाई त्रीबेणी टाइम्स र हेलो अमेरिकाले मिडिया पार्टनरको भूमिका निर्वाह गर्नेछन्।