न्युयोर्क – अमेरिकामा रहेका नेपाली जनसम्पर्क समितिका ३३ वटा च्याप्टरको अधिवेशन ११ वर्षपछि सम्पन्न भएको छ। लामो समयदेखि अधिवेशन हुन नसकेर आन्तरिक विवादमा फसेको समितिले यसपटक नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशनअनुसार अधिवेशन सम्पन्न गरेको हो।
समितिका अध्यक्ष आनन्द बिष्टका अनुसार सबै च्याप्टरमा सदस्यता वितरण, नवीकरण र अधिवेशन सम्पन्न भइसकेको छ। नेपाली कांग्रेसले पौष २६–२८ गते महाधिवेशन गर्ने निर्णय गरेपछि विदेशस्थित भातृ संगठनलाई पौष १५ भित्र अधिवेशन सक्न निर्देशन दिइएको थियो। सोही अनुसार अमेरिकास्थित समितिले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो।
न्युयोर्क च्याप्टरमा दीनदयाल भण्डारी सभापतिमा निर्वाचित भएका छन्। बरिष्ठ उपसभापतिमा दावा फिन्जु शेर्पा र उमेश थापा, उपसभापतिमा भिमसेन श्रेष्ठ, सचिवमा सुभाष केसी, सहसचिवमा रमेश पाठक र बिबेक अधिकारी, कोषाध्यक्षमा ललिता चन्द निर्विरोध चयन भएका छन्। अध्यक्ष पदमा सात जनाले इच्छा प्रकट गरे पनि अन्ततः सर्वसम्मत सहमति जुटाइएको थियो। सदस्यमा अमन बागचन्द, लोकमणि न्यौपाने, महादत्त कंडेल, टासी शेर्पा, सनबहादुर पुन, रामकुमार गिरि, फुर्वा शेर्पा र कृष्ण शर्मा रहेका छन्।
जर्जिया च्याप्टरमा शिबकमल पौडेल अध्यक्ष बनेका छन्। उपाध्यक्षमा सबिता कुँवर केसी, महासचिवमा राजु खनाल, कोषाध्यक्षमा सुष्मा पहारी र सदस्यमा दिपक केसी, जयलाल शर्मा, सरोज भण्डारी चयन भएका छन्। सल्लाहकारमा सन्तोष पहारीसहित केशव शर्मा, कुमार केसी, अनिल कोइराला, मदन घिमिरे, हरी भण्डारी र दिनेश राई रहेका छन्। महाधिवेशन प्रतिनिधिमा दिपक केसी, कपिल वाग्ले, दिनेश राई, विश्वमान आन्ग्दमबे, शिबकमल पौडेल, पारस थापा र सन्तोष पहारी चयन भएका छन्।
त्यस्तै मेरिल्याण्ड च्याप्टरमा नेत्र केसी, ड्यालस फोर्टवर्थमा उज्जल खत्री, वेस्ट टेक्ससमा हरिप्रसाद ढकाल, नर्दन क्यालिफोर्नियामा हरि भट्ट, सेन्ट्रल टेक्ससमा विनोद श्रेष्ठ, कान्ससमा फिलिपी केसी र अस्टिनमा कोशल यादव अध्यक्ष बनेका छन्। अन्य च्याप्टरको नामावली प्राप्त हुन बाँकी छ।
समितिमा हाल करिब ४ हजार पाँच सय सदस्य रहेका छन्। नेपाली नागरिकता कायम राखेका सदस्य मात्र नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन पाउने भए पनि अमेरिकास्थित अधिवेशनमा दुबै प्रकृतिका सदस्यलाई सहभागी गराइएको छ।
सन् २०१४ मा टेक्सासमा एकताको अधिवेशन भएपछिको लामो अन्तरालमा सम्पन्न अधिवेशनले पुराना विवाद अन्त्य हुने र समितिलाई अझ सक्रिय र गतिशील बनाउने विश्वास सदस्यहरूले व्यक्त गरेका छन्।