न्युयोर्कमा चासोक तङनाम २०२५ भव्य रूपमा सम्पन्न
- १० पुस २०८२
- १ मिनेटको पढाई
न्युयोर्क – लिम्बु समुदायको प्रमुख सांस्कृतिक पर्व चासोक तङनाम डिसेम्बर २० का दिन न्युयोर्कमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा समुदायका सदस्य, परिवारजन तथा शुभेच्छुकहरू एकत्रित भई आफ्नो संस्कृति, परम्परा र एकतालाई सम्मान गरेका थिए।
चासोक तङनाम लिम्बु समुदायको प्रमुख कटनी (बाली भित्र्याउने) पर्व हो, जसमा सफल बाली, स्वास्थ्य तथा समृद्धिका लागि देवता तागेरा निङ्वाफुमाप्रति कृतज्ञता व्यक्त गरिन्छ। यो पर्व प्रकृतिसँगको सामञ्जस्य, सांस्कृतिक निरन्तरता तथा समुदायबीचको एकताको प्रतीककाे रुपमा मानिन्छ। कार्यक्रममा समुदायका अग्रज तथा आस्थाका संरक्षकहरूले चासोक तङनामको ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक महत्वबारे व्याख्या गर्दै परम्परागत पूजा–आराधनाको शुभारम्भ गरेका थिए।
कार्यक्रममा लिम्बु परम्परागत नृत्य तथा विविध सांस्कृतिक प्रस्तुतिहरू देखाइएकाे थियाे, जसले समुदायको समृद्ध सांस्कृतिक सम्पदा र नयाँ पुस्तामा संस्कृतिप्रतिको चेतनालाई उजागर गर्ने अपेक्षा गिरएकाे छ। सहभागीहरूले परम्परागत खानपानको समेत आनन्द लिँदा कार्यक्रम अझ आत्मीय र उल्लासमय बनेको थियो।
साँझको विशेष आकर्षणका रूपमा द भ्वाइस नेपाल किड्स की उपविजेता रुक्साना लिम्बुको सुमधुर प्रस्तुतिले अझ उल्लास थपिएको थियो। उनले प्रस्तुत गरेको गीतमा जीतेन राईको ‘मालिङ्गो काट’ को प्रयोगले परम्परागत स्वाद थप्दै सांस्कृतिक भावनालाई अझ गहिरो बनाएको थियो।
प्रमुख अतिथि आदिवासी महिला महासंघकी अध्यक्ष श्रीमती इन्दिरा चोङबाङका साथै न्युयोर्क सहरका विभिन्न सामाजिक तथा सामुदायिक संस्थासँग आबद्ध चर्चित अभियन्ता तथा सामाजिक कार्यकर्ताहरू विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
न्युयोर्कमा सम्पन्न चासोक तङनाम २०२५ ले विदेशमा रहेका लिम्बु समुदायबीच सांस्कृतिक गौरव, पुस्तान्तरणीय सम्बन्ध तथा एकताको भावना अझ सुदृढ बनाएको सन्देश दिएको छ।