२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

नाइजेरियामा इस्लामिक स्टेटविरुद्ध अमेरिकी हवाई आक्रमण

नाइजेरियामा इस्लामिक स्टेटविरुद्ध अमेरिकी हवाई आक्रमण

न्युयोर्क- अमेरिकाले उत्तर–पश्चिम नाइजेरियामा इस्लामिक स्टेट (IS)सँग सम्बन्धित सशस्त्र समूहमाथि हवाई आक्रमण गरेको छ। अमेरिकी सेनाले दिएको जानकारीअनुसार सोकोटो राज्यमा रहेको समूहका शिविरहरूलाई लक्षित गरी आक्रमण गरिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिसमसको दिन भएको आक्रमणलाई “घातक” भन्दै ती समूहलाई “आतङ्कवादी” भनेका छन्। उनले निर्दोष ख्रीष्टियनहरूलाई लक्षित गरी हत्या गर्ने गतिविधि रोक्नुपर्ने बताएका छन्। तर नाइजेरियाका विदेश मन्त्री युसुफ मैतामा टुग्गरले यो संयुक्त कारबाही भएको र कुनै धर्मसँग सम्बन्धित नभएको स्पष्ट पारे।

स्थानीय अधिकारी इसा सलिहु बशिरका अनुसार आक्रमणले ‘लाकुरावा’ नामक आतंकवादी समूहका शिविरहरूमा प्रहार गरेको छ। धेरै लडाकु मारिएको अनुमान भए पनि मृतक संख्या स्पष्ट छैन। सीमापार नाइजरतर्फ लाकुरावा समूहका सदस्यहरू भागेको रिपोर्ट गरिएको छ।

नाइजेरियाले लामो समयदेखि बोको हराम र IS–सम्बद्ध समूहसँग उत्तर–पूर्व क्षेत्रमा लड्दै आएको छ। तर पछिल्ला वर्षमा लाकुरावा नामक सानो समूहले उत्तर–पश्चिम सोकोटो राज्यमा आधार जमाउने प्रयास गरेको छ।

नाइजेरियाको सूचना मन्त्रालयले राष्ट्रपति बोला टिनुबुको अनुमतिसहित नाइजेरियाली सेनाको प्रत्यक्ष संलग्नतामा ‘प्रिसिजन स्ट्राइक’ गरिएको जनाएको छ। आक्रमणका क्रममा सोकोटो राज्यको जाबो गाउँ र क्वारा राज्यको अफ्फा क्षेत्रमा विस्फोटको अवशेष खसे पनि नागरिक हताहत नभएको बताइएको छ।

अमेरिकी रक्षा मन्त्रालयले आक्रमणको भिडियो सार्वजनिक गरेको छ, जसमा युद्धपोतबाट मिसाइल प्रक्षेपण देखिन्छ। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले नाइजेरियाली सरकारको सहयोगप्रति आभार व्यक्त गरेका छन्।

नाइजेरिया अफ्रिकाको सबैभन्दा जनसंख्या भएको देश हो, जहाँ करिब २२ करोड मानिस ख्रीष्टियन र मुस्लिममा करिब बराबर विभाजित छन्। बोको हराम र IS–सम्बद्ध समूहले दशकभन्दा बढी समयदेखि हिंसा मच्चाउँदै हजारौँको ज्यान लिएका छन्।

यो आक्रमण पछिल्लो दुई सातामा अमेरिकाले IS विरुद्ध गरेको दोस्रो ठूलो कारबाही हो। गत हप्ता अमेरिकाले सिरियामा ७० भन्दा बढी लक्ष्यमा हवाई आक्रमण गरेको थियो।