अमेरिकामा झरीसँगै हिमपातको चेतावनी, हजारौँ उडान अवरुद्ध
- १२ पुस २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा शक्तिशाली हिमपात आउन लागेको चेतावनीसँगै हजारौँ उडान रद्द वा ढिला भएका छन्। FlightAware वेबसाइटका अनुसार शुक्रबार रातिसम्म १,६०० उडान रद्द र ७,४०० भन्दा बढी ढिला भएका छन्।
सबैभन्दा बढी प्रभावित विमानस्थलहरू न्यूयोर्क क्षेत्रका जोन एफ. केनेडी अन्तर्राष्ट्रिय, नेवार्क लिबर्टी र लागार्डिया हुन्। बोस्टन, शिकागो र क्यानडाको टोरन्टो पनि प्रभावित भएका छन्।
अमेरिकी National Weather Serviceले शुक्रबार साँझ ४ बजेदेखि शनिबार दिउँसो १ बजेसम्म हिमपातकाे चेतावनी जारी गरेको छ। यस अवधिमा न्यूयोर्क सिटी र दक्षिणी कनेक्टिकटमा करिब ९ इन्च (२३ से.मी.) सम्म हिउँ पर्न सक्ने अनुमान गरिएको छ।
प्रमुख विमान कम्पनीहरूमा JetBlue Airwaysले २२९, Delta Air Linesले २४१, Republic Airwaysले १८० र Southwest Airlinesले १५१ उडान रद्द गरेका छन्। American Airlines र United Airlinesले पनि करिब १०० उडान रद्द गरेका छन्।
न्यूयोर्क राज्यकी गभर्नर क्याथी होचुलले अनावश्यक यात्रा नगर्न आग्रह गर्दै आवश्यक परेमा “पहिले योजना बनाउन, बिस्तारै चलाउन र पर्याप्त समय छुट्याउन” चेतावनी दिएकी छिन्। न्यू जर्सी र कनेक्टिकटका गभर्नरहरूले पनि समान चेतावनी दिएका छन्।
यो न्यूयोर्क सिटीमा यस वर्षको दोस्रो ठूलो हिमपात हो। डिसेम्बर १४ मा पनि शहरमा केही इन्च हिउँ परेको थियो। मेयर एरिक एडम्सले शुक्रबार काममा गाडी चलाएर गएका नागरिकलाई चाँडै घर फर्कन वा सार्वजनिक यातायात प्रयोग गर्न आग्रह गरेका छन्।
सडकमा दुई इन्चभन्दा बढी हिउँ जम्नेबित्तिकै सफा गर्न snow ploughs परिचालन गरिने तयारी गरिएको छ।