आइडाहोमा शेरिफ कार्यालयमा गोलीकाण्ड : तीनजना सामान्य घाइते, आक्रमणकारी मारिए
- १२ पुस २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको उत्तरी आइडाहो राज्यको शोषोन काउन्टीस्थित शेरिफ कार्यालयमा शुक्रबार भएको गोलीकाण्डमा तीनजना सामान्य घाइते भएका छन् भने आक्रमणकारी प्रहरीको गोलीमा मारिएका छन्।
शेरिफ विल एडीका अनुसार आक्रमणकारीले पहिलो पटक वलास शहरको सडकमा गोली चलाएका थिए। त्यस क्रममा गाडीमा बसेका दुई महिलाको खुट्टामा गोली लागेर उनीहरू सामान्य घाइते भएका छन्।
पछि आक्रमणकारी शेरिफ कार्यालयभित्र प्रवेश गरी डिस्प्याच केन्द्रतर्फ गोली चलाउँदा एक अधिकारीको कानमा चोट लागेको थियो। घटनाको सुरुवात स्थानीय समय अनुसार दिउँसो २:३० बजे भएको हो। करिब दुई घण्टापछि ४:१५ बजे प्रहरीको कारबाहीमा आक्रमणकारी मारिएका थिए।
घटनापछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। प्रारम्भमा आक्रमणकारी भवनभित्रै बारिकेड बनेर बसेको र SWAT टोली समेत परिचालन गरिएको अधिकारीहरूले बताएका छन्।
आक्रमणकारीको पहिचान सार्वजनिक गरिएको छैन। घटनाको अनुसन्धान कोटेनाई काउन्टी शेरिफ कार्यालय र कोर ड’अलेन प्रहरीले गरिरहेका छन् भने आइडाहो राज्य प्रहरीले ‘अफिसर–इनभल्भ्ड शूटिङ’ सम्बन्धी अनुसन्धान गरिरहेको छ।
वलास शहर शोषोन काउन्टीको प्रशासनिक केन्द्र हो, जहाँ करिब १,००० जनसंख्या रहेको छ। छिमेकी मिनरल काउन्टी शेरिफ कार्यालयले पनि सहयोगका लागि अतिरिक्त प्रहरी पठाएको जनाएको छ।