युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट
- १३ पुस २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार फ्लोरिडाको मार–ए–लागोमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्ने तयारी गरेका छन्।
जेलेन्स्कीले सुरक्षा तथा आर्थिक सम्झौता, क्षेत्रीय मुद्दा, जापोरिजिया आणविक ऊर्जा केन्द्र र युद्धपछिको पुनर्निर्माण कोषबारे छलफल हुने बताएका छन्। उनले युक्रेन शान्ति चाहन्छ तर रुसले युद्ध जारी राख्ने सङ्केत गरिरहेको आरोप लगाएका छन्।
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युक्रेन पुनर्निर्माणका लागि २.५ अर्ब क्यानेडियन डलर सहयोग घोषणा गर्दै ट्रम्प–जेलेन्स्की भेटलाई ‘न्यायपूर्ण र स्थायी शान्ति’ का लागि महत्त्वपूर्ण क्षण भनेका छन्।
अमेरिकी वार्ताकारहरूले अघि सारेको २० बुँदे शान्ति प्रस्ताव ९० प्रतिशत तयार भइसकेको जेलेन्स्कीले बताएका छन्। अमेरिकाले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने सहमति जनाएको छ, जसको सर्तमा युक्रेनले भविष्यमा नाटो सदस्यता खोज्ने प्रयास त्याग्न सक्ने संकेत गरेको छ।
क्रेमलिनले वार्ता अघि बढाउने सहमति भएको पुष्टि गरे पनि राष्ट्रपति पुटिनले कब्जामा रहेका चार क्षेत्र र क्रिमियालाई रूसी भूभागका रूपमा मान्यता दिनुपर्ने माग दोहोर्याएका छन्। विश्लेषकहरूका अनुसार यदि युक्रेनले डोनबास क्षेत्रमा केही सम्झौता गर्यो र पश्चिमी शक्तिले रुसलाई आर्थिक प्रोत्साहन दिए, पुटिनलाई युद्ध अन्त्यतर्फ राजी गराउन सकिने सम्भावना रहेको छ।