२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

नेवा गुठी न्युयोर्कको सातौँ महाधिवेशन सम्पन्न, अध्यक्षमा राजेन्द्र महर्जन

नेवा गुठी न्युयोर्कको सातौँ महाधिवेशन सम्पन्न, अध्यक्षमा राजेन्द्र महर्जन

न्युयोर्क – नेवा गुठी न्युयोर्कको सातौँ महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । महाधिवेशनले राजेन्द्र महर्जनको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।

न्युयोर्कको ज्याक्सन हाइटस्थित नेपाली भान्साघरमा सम्पन्न उक्त कार्यक्रममा वल्र्ड नेवा अर्गनाइजेसनका भूपू अध्यक्ष सिजन श्रेष्ठको उपस्थिती रहेको थियो। गुठीका उपाध्यक्ष वीरेन्द्र मानन्धरकाे स्वागत मन्तव्य तथा संस्थापक बी.के. नेवाले नेवा गुठीले हालसम्म गरेको कामको प्रशंसा गर्दै गुठीलाई सहयोग गर्दै आएका महानुभावलाई धन्यवाद दिएका थिए। उनले नयाँ कार्यसमितिलाई पनि यसरी नै काम गर्न आग्रह गर्दै कार्यकाल सफलताको शुभकामना समेत दिए। संस्थापक नेवाले दुई कार्यकाल सफलतापूर्वक सम्पन्न गरी विदाई हुन लागेका गुठीका अध्यक्ष विजयमान सिंहलाई बधाई दिँदै गुठीलाई नयाँ उचाइमा पुर्‍याउने काम गरेकोमा विशेष धन्यवाद समेत दिए।

त्यसैगरी गुठीका पूर्वअध्यक्षद्वय आदित्य महर्जन, समिर महर्जन र पूर्वउपाध्यक्ष न्हुच्छेमान डंगोलले गुठीकाे उद्देश्य तथा महत्वमाथि प्रकाश पार्दै पारेका थिए। कोषाध्यक्ष प्रेमगोपाल महर्जन र सहकोषाध्यक्ष सजना महर्जनले आर्थिक वार्षिक प्रतिवेदन पेस गरेका थिए।

गुठीका अध्यक्ष विजयमान सिंहले प्रमुख अतिथि सिजन श्रेष्ठलाई ग्लोबल नेवा लिडरसिप अवार्डद्वारा सम्मान गरेका थिए। सम्मानित सिजन श्रेष्ठले आफूलाई यसरी सम्मान गरेकोमा धन्यवाद दिँदै वल्र्ड नेवा अर्गनाइजेसनको उद्देश्य र हालसम्म गर्दै आएको कामबारेमा जानकारी दिएका थिए।

निर्वाचन अधिकृत अन्जन श्रेष्ठले १७ जनाको नयाँ कार्यसमिति निर्वाचित भएको जानकारी दिएका थिए भने कार्यक्रमका अध्यक्ष विजयमान सिंहले गुठीलाई सहयोग गरेका विभिन्न व्यक्तिलाई सम्मानपत्रसहित सम्मान गरे। उनले प्रेसिडेन्ट अवार्डबाट सजना महर्जन र आउटस्ट्यान्डिङ प्रेमगोपाल महर्जनलाई प्रदान गरे। उनले आफ्नो कार्यकालमा आफूलाई सहयोग गरेजस्तै नयाँ कार्यसमितिलाई पनि सहयोग गर्न आह्वान गर्दै नयाँ कार्यसमितिलाई बधाई दिएका थिए।

अध्यक्ष विजयमान सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सहकोषाध्यक्ष सजना महर्जनले गरेकी थिइन। कार्यक्रममा नेवा परम्परा अनुसार नयाँ कार्य समितिका पदाधिकारीहरूलाई उसिनेको अण्डा, माछा र रक्सीका सगुन दिइएको थियो भने पुराना पदाधिकारीहरूलाई खादा ओढाएर विदाइ गरिएको थियो।

नयाँ निर्वाचित कार्यसमितिको अध्यक्षमा राजेन्द्र महर्जन, वरिष्ठ उपाध्यक्षमा सन्तोष महर्जन, उपाध्यक्षमा डा. मिम नकर्मी, महासचिवमा सजना महर्जन, सहसचिवमा रोशन महर्जन, कोषाध्यक्षमा प्रेमगोपाल महर्जन, सहकोषाध्यक्षमा सुन्दर महर्जन रहेका छन्। सदस्यहरूमा अनिलचन्द्र प्रधान, अन्जु महर्जन थापामगर, भुपेन्द्र बज्राचार्य, दिनेश श्रेष्ठ, हरिगोविन्द महर्जन, जमुना कपाली श्रेष्ठ, किरण महर्जन, मुन्ना डंगोल, राजन महर्जन र शंखरत्न शाक्य रहेका छन्।