न्यू जर्सीमा दुई हेलिकप्टर ठोक्किँदा एक जनाको मृत्यु, अर्को गम्भीर घाइते
- १४ पुस २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क- न्यू जर्सीको ह्याम्मटन क्षेत्रमा आइतबार दिउँसो दुई हेलिकप्टर आकाशमै ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्को व्यक्ति गम्भीर घाइते भएका छन्।
संघीय विमान प्रशासनका अनुसार दिउँसो करिब १२:२५ बजे ह्याम्मटन म्युनिसिपल एयरपोर्ट नजिक Enstrom F-28A र Enstrom 280C हेलिकप्टर आकाशमै ठोक्किएका थिए। ठोक्किएपछि दुवै हेलिकप्टर बेसिन रोड नजिक खसेका थिए। तीमध्ये एक हेलिकप्टरमा आगो लागेको थियो।
ह्याम्मटन प्रहरीले पुष्टि गरेको छ, “एक जनाको मृत्यु भएको छ र अर्को व्यक्तिलाई गम्भीर अवस्थामा उद्धार गरेर अस्पताल पठाइएको छ।” घटनास्थलमा पुगेका प्रहरी र आपतकालीन सेवाका कर्मचारीहरूले आगो नियन्त्रणमा ल्याएका थिए।
FAAले नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डलाई जानकारी दिँदै दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गर्ने जनाएको छ।
प्रत्यक्षदर्शी ब्रायन शेरले भने, “पहिले धातु ठोक्किएको आवाज मात्र सुनेँ। पछि माथि हेर्दा एउटा हेलिकप्टर घुम्दै तल झर्दै गरेको देखेँ। त्यसपछि अर्को हेलिकप्टर पनि त्यस्तै गरी खसेको देखेँ।”
पीडितहरूको नाम सार्वजनिक गरिएको छैन। प्रहरीले स्थानीय बासिन्दा र यात्रुलाई बेसिन रोड क्षेत्र टाढा रहन आग्रह गरेको छ।
यस दुर्घटनाले व्यस्त आवासीय क्षेत्रमा ठूलो त्रास फैलाएको छ र विस्तृत कारणबारे अनुसन्धान जारी छ।