२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

न्युयोर्कमा फ्लुका सबैभन्दा धेरै केस, अस्पताल भर्ना बढ्यो

न्युयोर्कमा फ्लुका सबैभन्दा धेरै केस, अस्पताल भर्ना बढ्यो

न्युयोर्क- न्युयोर्क राज्यले यस वर्ष इतिहासमै सबैभन्दा धेरै फ्लुका केसहरू दर्ता गरेको छ। क्रिसमसअघि डिसेम्बर १४ देखि २० सम्मको सातामा मात्र ७१ हजारभन्दा बढी फ्लुका केस रिपोर्ट भएका छन्। यो अघिल्लो साताभन्दा ३८ प्रतिशत बढी हो।

राज्य स्वास्थ्य आयुक्त डा. जेम्स म्याकडोनाल्डले यो न्युयोर्कमा एकै सातामा दर्ता भएको सबैभन्दा उच्च संख्या भएको बताएका छन्। उनले अस्पताल बेड क्षमताबारे नजिकै निगरानी गरिरहेको र श्वासप्रश्वाससम्बन्धी भाइरस संक्रमणका असरलाई ध्यानमा राखी आवश्यक कदम चालिने बताएका छन्।

फ्लुका कारण अस्पताल भर्ना हुने संख्या पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो साताभन्दा ६३ प्रतिशत बढी बिरामी अस्पताल पुगेका थिए, जसमा करिब ३,७०० जना भर्ना भएका थिए। स्वास्थ्य अधिकारीहरूले फ्लु सिजन सामान्यतया जनवरीमा चरममा पुग्ने भएकाले केसहरू अझै केही समयसम्म बढ्न सक्ने चेतावनी दिएका छन्।

अधिकारीहरूले फ्लुबाट बच्नका लागि सरल सावधानीहरू अपनाउन आग्रह गरेका छन्।

१-साबुनपानीले कम्तीमा २० सेकेन्ड हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने।

२-अनुहार (आँखा, नाक, मुख) नछुने।

३-बिरामीसँग नजिक सम्पर्क नगर्ने।

४-बिरामी हुँदा घरमै बस्ने।

५-खोकी वा हाछ्युँ गर्दा टिस्यु प्रयोग गर्ने र तुरुन्तै फ्याँक्ने।

६-बारम्बार प्रयोग हुने वस्तु र सतह सफा गर्ने।

स्वास्थ्य अधिकारीहरूको भनाइअनुसार अझै पनि फ्लु खोप लगाउन ढिलो भएको छैन।