२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

सन् २०२५ मा १२८ पत्रकारको हत्या: प्रेस स्वतन्त्रतामाथि विश्वव्यापी खतरा

सन् २०२५ मा १२८ पत्रकारको हत्या: प्रेस स्वतन्त्रतामाथि विश्वव्यापी खतरा

न्युयोर्क – सन् २०२५ मा विश्वभर १२८ जना पत्रकारले ज्यान गुमाएका छन्। अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार तीमध्ये आधाभन्दा बढी पत्रकारको हत्या मध्यपूर्वमा भएको छ।

आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले बढ्दो हत्याको सङ्ख्यालाई पत्रकारहरूका लागि ‘विश्वव्यापी रेड अलर्ट’ (खतराको घण्टी) भएको बताए। उनले तथ्याङ्क मात्र नभई यो सहकर्मीहरूको बलिदान भएको उल्लेख गरे। विशेषगरी गाजामा हमास र इजरायलबीचको द्वन्द्वका क्रममा मात्रै ५६ जना मिडियाकर्मी मारिएको तथ्य उनले बाहिर ल्याए। बेलाङ्गरले यति छोटो समय र सानो क्षेत्रमा यति धेरै मृत्यु यसअघि कहिल्यै नदेखिएको भने।

मध्यपूर्वबाहेक यमन, युक्रेन, सुडान, पेरु र भारत लगायतका देशमा पनि पत्रकारहरूको हत्या भयो। आक्रमणकारीहरूले सजाय नपाउने अवस्था (दण्डहीनता) रहेको भन्दै उनले यसको निन्दा गरे। न्याय नहुँदा हत्याराहरू झन् हौसिने उनले चेतावनी दिए।

अहिले विश्वभर ५३३ जना पत्रकार जेलमा रहेको आइएफजेले जनाएको छ। यो सङ्ख्या बितेको पाँच वर्षमा दोब्बरभन्दा बढी हो। हङकङमा मात्रै १४३ जना पत्रकार जेलमा छन्, जसलाई पश्चिमी राष्ट्रहरूले ‘सबैभन्दा खराब जेलर’ को रूपमा चिनाएका छन्।

पत्रकारको मृत्युबारे फरक-फरक संस्थाका तथ्याङ्क फरक देखिएका छन्। आइएफजेले १२८ जनाको सूची सार्वजनिक गर्दा युनेस्कोले ९३ र रिपोर्टर्स विदाउट बोर्डर्सले ६७ जनाको मात्रै हत्या भएको बताएका छन्। आइएफजेको सूचीमा दुर्घटनामा ज्यान गुमाएका ९ जना पत्रकारलाई पनि समावेश गरिएको छ।