२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

डाक्टरले भनेभन्दा बढी एस्पिरिन किन खान्छन राष्ट्रपति ट्रम्प ?

डाक्टरले भनेभन्दा बढी एस्पिरिन किन खान्छन राष्ट्रपति ट्रम्प ?

न्यूयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना आलोचकहरूलाई जवाफ दिँदै आफू पूर्ण रूपमा स्वस्थ रहेको बताएका छन्। ‘द वाल स्ट्रिट जर्नल’ लाई दिएको अन्तर्वार्तामा उनले डाक्टरले सिफारिस गरेभन्दा बढी मात्रामा एस्पिरिन औषधि सेवन गर्ने गरेको खुलासा गरे।

७९ वर्षीय ट्रम्पले आफ्नो हातमा देखिने निलडामहरूको कारण यही औषधि भएको बताए। उनले भने, “एस्पिरिनले रगत पातलो बनाउँछ भन्छन्, म आफ्नो मुटुमा बाक्लो रगत बगेको चाहन्नँ। म अलि बढी मात्रामा औषधि लिन्छु, जसले गर्दा हातमा निलडाम बस्छ।” ट्रम्पका निजी चिकित्सकले भने उनले मुटुको सुरक्षाका लागि दैनिक ३२५ मिलिग्राम एस्पिरिन लिने गरेको बताएका छन्।

पछिल्लो समय बैठकहरूमा निदाएको र स्वास्थ्य बिग्रिएको भन्दै ट्रम्पको आलोचना भइरहेको थियो। उनले आफू बैठकमा ननिदाएको बरु आँखा मात्र चिम्लेर आराम गर्ने गरेको दाबी गरे। “कहिलेकाहीँ आँखा झिम्काएको बेला फोटो खिचेर म निदाएको हल्ला फैलाइन्छ,” उनले भने।

ट्रम्पको खुट्टा सुन्निने समस्या (भेिनस इनसफिसिएन्सी) भएको र त्यसका लागि विशेष मोजा लगाउन सुझाव दिइएको भए पनि उनले झ्याउ लागेर लगाउन छोडिदिएको बताए। उनी शारीरिक व्यायाम गर्न अल्छी मान्छन् र गल्फ खेल्नु नै आफ्नो लागि पर्याप्त व्यायाम भएको ठान्छन्।

ह्वाइट हाउसका चिकित्सकहरूले भने ट्रम्पको स्वास्थ्य रिपोर्ट उत्कृष्ट रहेको र उनको मुटुको अवस्था वास्तविक उमेरभन्दा १४ वर्ष कान्छो देखिएको दाबी गरेका छन्। ट्रम्पले आफ्नो कार्यतालिका केही कम गराएको भए पनि आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको जिद्दी गरेका छन्।