२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्ने ट्रम्पको चेतावनी

इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – इरानमा बढ्दो आर्थिक सङ्कट र महँगीविरुद्ध भइरहेको आन्दोलन हिंसात्मक बन्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन्। उनले शुक्रबार ‘ट्रुथ सोसल’ मा एक पोस्ट गर्दै इरानले शान्तिपूर्ण प्रदर्शनकारीमाथि गोली चलाए वा उनीहरूको हत्या गरे अमेरिकाले हस्तक्षेप गर्ने बताए।

ट्रम्पले लेखेका छन्, “यदि इरानले आफ्नो बानी अनुसार प्रदर्शनकारीलाई गोली हान्छ वा मार्छ भने, संयुक्त राज्य अमेरिका उनीहरूको उद्धारमा आउनेछ। हामी पूर्ण रूपमा तयारी अवस्थामा (लक्ड एन्ड लोडेड) छौँ।”

ट्रम्पको यो बयानपछि इरानका उच्च अधिकारीहरूले पनि कडा प्रतिवाद गरेका छन्। सर्वोच्च नेताका सल्लाहकार अली लारीजानीले अमेरिकी हस्तक्षेपले क्षेत्रमा अशान्ति मच्चाउने र मध्यपूर्वमा रहेका अमेरिकी सेनाहरू इरानको निशानामा पर्ने चेतावनी दिए। इरानी संसदका सभामुखले पनि ट्रम्पको धम्कीले अमेरिकी सैन्य आधारहरूलाई ‘वैधानिक निशाना’ बनाएको बताए।

इरानमा गत आइतबारदेखि सुरु भएको प्रदर्शन अहिले देशभर फैलिएको छ। मुद्राको मूल्यमा भारी गिरावट र महँगीका कारण सुरु भएको यो आन्दोलन अहिले राजनीतिक रूपमा सत्ता र सर्वोच्च नेताविरुद्ध केन्द्रित हुन थालेको छ। विभिन्न मानवअधिकारवादी संस्थाहरूका अनुसार झडपका क्रममा अहिलेसम्म कम्तीमा ७ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ।

इरानको अर्थतन्त्र लामो समयदेखिको प्रतिबन्ध र गत जुनमा इजरायलसँग भएको १२ दिने युद्धका कारण थिलथिलो भएको छ। राष्ट्रपति मसूद पेजेस्कियानले प्रदर्शनकारीका मागहरू जायज भएको भन्दै वार्ताको सङ्केत दिए पनि प्रदर्शनकारीहरू भने आक्रोशित देखिन्छन्। सन् २०२२ को ‘महिला, जीवन, स्वतन्त्रता’ आन्दोलनपछिको यो सबैभन्दा ठुलो प्रदर्शन मानिएको छ।