२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

न्यूयोर्क राज्य सभाका लागि सोमनाथ घिमिरेले गरे उम्मेदवारी घोषणा: यस्ता छन् एजेन्डा

न्यूयोर्क राज्य सभाका लागि सोमनाथ घिमिरेले गरे उम्मेदवारी घोषणा: यस्ता छन् एजेन्डा

न्यूयोर्क – वुडसाइडका पुराना बासिन्दा तथा प्रतिष्ठित सामाजिक अभियन्ता सोमनाथ घिमिरेले न्यूयोर्क राज्य सभाको ‘डिस्ट्रिक्ट ३०’ का लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले सुलभ आवास, गुणस्तरीय शिक्षा र श्रमिकहरूको हकहितलाई मुख्य चुनावी एजेन्डा बनाएका छन्।

उम्मेदवारी घोषणा गर्दै घिमिरेले क्विन्स क्षेत्रका हरेक परिवारको आवाज बुलन्द पार्न आफू मैदानमा उत्रिएको बताए। उनले भने, “हाम्रो समुदायको मर्म बुझ्ने र सबैका लागि ठोस समाधान निकाल्न सक्ने नेतृत्व अहिलेको खाँचो हो। म न्यायपूर्ण क्विन्स निर्माणका लागि लड्नेछु।”

घिमिरेले जनसेवाको वास्तविक अर्थ जनताको कुरा सुन्नु र उनीहरूको पक्षमा दृढतापूर्वक उभिनु रहेको उल्लेख गरे। उनले सबै मिलेर हरेक परिवार फस्टाउन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।

सन् १९९६ देखि वुडसाइडमा बस्दै आएका घिमिरेले विगत दुई दशकदेखि नेपाली अमेरिकी र दक्षिण एसियाली समुदायको सेवा गर्दै आएका छन्। उनले सन् २०२० को जनगणनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए भने ‘इन्हुर्ड इन्टरनेशनल’ मार्फत २२ वटा देशमा मानव अधिकार मिसनहरूमा समेत सहभागी भएका छन्।

आप्रवासी र श्रमजीवी परिवारहरूको पक्षमा वकालत गर्दै आएका घिमिरेको उम्मेदवारीलाई न्यूयोर्कमा रहेका नेपाली समुदायले चासोका साथ हेरेका छन्।