नर्थ क्यारोलिनामा नयाँ वर्षको ‘आतंकवादी हमला’ विफल: १८ वर्षीय युवक पक्राउ
- १९ पुस २०८२
- १ मिनेटको पढाई
नर्थ क्यारोलिना – अमेरिकाको नर्थ क्यारोलिना राज्यमा नयाँ वर्षको पूर्वसन्ध्यामा गराउन खोजिएको एक ठुलो आतंकवादी हमलालाई संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले विफल पारेको छ। यस योजनामा संलग्न १८ वर्षीय क्रिस्टियन स्टर्डिभान्टलाई पक्राउ गरी ‘विदेशी आतंकवादी संगठनलाई सहयोग पुर्याउन खोजेको’ अभियोग लगाइएको छ।
एफबीआईका अनुसार स्टर्डिभान्टले मिन्ट हिल क्षेत्रको एउटा किराना पसल र बर्गर किङ रेस्टुरेन्टमा हमला गर्ने योजना बनाएका थिए। उनी आतंकवादी समूह ‘इस्लामिक स्टेट’ (आईएसआईएस) बाट प्रेरित रहेको र उनले अनलाइनमार्फत उक्त समूहप्रति वफादार रहने सपथ समेत लिएका थिए। उनले आफूले कुरा गरिरहेको व्यक्ति आईएसआईएसकै सदस्य भएको ठानेका थिए, तर वास्तवमा ती व्यक्ति एफबीआईका ‘अन्डरकभर’ एजेन्ट थिए।
प्रहरीले स्टर्डिभान्टको घरमा छापा मार्दा उनको ओछ्यानमुनि लुकाइराखेका हतियारहरू (हथौडा र चक्कु) फेला पारेको छ। साथै, उनले हातले लेखेको एउटा दस्ताबेज पनि भेटिएको छ, जसको शीर्षक ‘नयाँ वर्षको आक्रमण २०२६’ राखिएको थियो। उक्त दस्ताबेजमा उनले २० देखि २१ जनासम्म मानिस मार्ने र अन्त्यमा प्रहरीको हातबाट मारिएर ‘सहिद’ बन्ने इच्छा व्यक्त गरेका थिए।
अधिकारीहरूका अनुसार स्टर्डिभान्ट सन् २०२२ देखि नै एफबीआईको निगरानीमा थिए। त्यतिबेला १४ वर्षको उमेरमा उनले छिमेकीलाई मार्न खोज्दा उनका हजुरबुबाले रोकेका थिए। त्यसपछि उनको मनोवैज्ञानिक उपचार गरिएको भए पनि १८ वर्ष पुगेपछि उनी फेरि आतंकवादी गतिविधिमा सक्रिय भएका हुन्।
अहिले स्टर्डिभान्ट प्रहरी हिरासतमा छन् र यदि उनी दोषी ठहरिएमा उनलाई २० वर्षसम्मको जेल सजाय हुन सक्छ। एफबीआईले यस सफल अपरेशनबाट धेरै निर्दोष मानिसको ज्यान जोगिएको बताएको छ।