मेक्सिकोमा ६.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प: २ जनाको मृत्यु, ५०० भन्दा बढी पराकम्प
- १९ पुस २०८२
- १ मिनेटको पढाई
मेक्सिको सिटी – दक्षिण र मध्य मेक्सिकोमा शुक्रबार ६.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण राष्ट्रपति क्लाउडिया सेनबाउमको वर्षकै पहिलो पत्रकार सम्मेलन समेत बीचमै रोकिन पुग्यो। यस प्राकृतिक विपत्तिमा परी अहिलेसम्म कम्तीमा २ जनाको ज्यान गएको पुष्टि भएको छ।
मेक्सिकोको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु प्रशान्त महासागरको तटीय क्षेत्रमा रहेको पर्यटकीय सहर आकापुल्को नजिकैको सान मार्कोस भन्ने ठाउँमा थियो। मुख्य धक्कापछि ५०० भन्दा बढी पराकम्पहरू समेत गएका छन्।
भूकम्पका कारण गुएरेरो राज्यमा ठुलो क्षति पुगेको छ। त्यहाँकी गभर्नर एभलिन साल्गाडोले केन्द्रविन्दु नजिकै घर भत्किँदा ५० वर्षीया एक महिलाको ज्यान गएको बताइन्। त्यस्तै, राज्यको राजधानी चिलपान्सिन्गोमा एउटा अस्पतालको भवनमा गम्भीर क्षति पुगेपछि बिरामीहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
राजधानी मेक्सिको सिटीमा पनि भूकम्पको कडा धक्का महसुस गरियो। त्यहाँका मेयर क्लारा ब्रुगाडाले भवन खाली गर्ने क्रममा लडेर एक व्यक्तिको मृत्यु भएको जानकारी दिइन्। भूकम्पपछि आकापुल्को र अन्य राजमार्गहरूमा पहिरो खसेर बाटो अवरुद्ध भएका छन्।
भूकम्पको धक्का सुरु हुनासाथ स्थानीय बासिन्दा र पर्यटकहरू घर तथा होटलबाट भागेर सडकमा निस्किएका थिए। आकापुल्कोका एक डाक्टर जोसे रायमुन्डोले पहिले ठुलो गर्जन सुनिएको र लगत्तै मोबाइलमा ‘सिस्मिक अलर्ट’ आएपछि जमिन जोडले हल्लिन थालेको सुनाए। कतिपय दुर्गम क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले क्षतिको थप विवरण आउन बाँकी छ।