साँखुको सालीनदीमा एकमहिने माधवनारायण मेला सुरु
- १९ पुस २०८२
- १ मिनेटको पढाई
काठमाडौँ – काठमाडौँको उत्तरपूर्वी भेगमा पर्ने ऐतिहासिक सहर साँखुस्थित सालीनदीमा नयाँ वर्ष २०२६ को सुरुवातसँगै एकमहिने ‘माधवनारायण मेला’ सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि सुरु भएको यो मेला माघ १८ गतेसम्म चल्ने छ।
मेला व्यवस्थापन समितिका अनुसार यस वर्ष कुल १७५ जना भक्तजनले कठोर व्रत सुरु गरेका छन्। जसमा १६२ जना महिला र १३ जना पुरुष सहभागी छन्। मेलाको पहिलो दिन भक्तजनको ठुलो घुइँचो लागेको थियो भने विशेष आकर्षणका रूपमा दाताहरूको सहयोगमा नगरकोट डाँडाबाट पुष्पवृष्टि समेत गरिएको थियो।
एक महिनासम्म चल्ने यस मेलामा भक्तजनहरूले सालीनदीमा पवित्र स्नान गरी माधवनारायण र स्वस्थानी माताको पूजा आराधना गर्नेछन्। विशेषगरी स्वस्थानी कथामा आधारित यो मेलामा उपवास बस्ने, पवित्र नदीमा डुबुल्की मार्ने र भगवान् माधवनारायणको भजनकीर्तन गर्ने परम्परा छ।
मेला अवधिभर सालीनदी क्षेत्रमा सुरक्षा र भक्तजनको सुविधाका लागि विशेष व्यवस्था गरिएको समितिले जनाएको छ। विशेषगरी शनिबारका दिन मेलामा अझ बढी भक्तजनको उपस्थिति रहने अपेक्षा गरिएको छ।