२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोडिनेछ: सञ्चारमन्त्री जगदीश खरेल

देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोडिनेछ: सञ्चारमन्त्री जगदीश खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका सबै पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने बताएका छन्। शनिबार नेपाल पत्रकार महासङ्घ चितवन शाखाको निरीक्षणका क्रममा उनले सरकारले सुरुमा सरकारी सञ्चार माध्यमका पत्रकारबाट यो कामको थालनी गरेको जानकारी दिए।

मन्त्री खरेलले पत्रकारहरूको समस्या समाधानका लागि वर्तमान सरकारले ठोस आधार तयार गरिरहेको बताए। उनले लोक कल्याणकारी विज्ञापनलाई व्यवस्थित गर्दै सबै सञ्चारमाध्यममा न्यायोचित ढङ्गले पुर्‍याउनु जरुरी रहेकोमा जोड दिए। चितवन शाखाको व्यवस्थापनको प्रशंसा गर्दै उनले पत्रकारहरूको कार्यालयमा प्रवेश गर्दा आफ्नै घरमा आएको जस्तो अनुभूति भएको सुनाए।

भ्रमणका क्रममा मन्त्री खरेलले गत असोजमा मुग्लिन-नारायणगढ सडकखण्डमा समाचार सङ्कलनकै क्रममा दुर्घटनामा परेका नेपाल टेलिभिजनका संवाददाता अनिल ढकाललाई पनि भेटेका छन्। तीन महिनादेखि उपचाररत ढकालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै मन्त्रीले उनलाई काममा निरन्तरता दिन र आवश्यक सहयोग गर्न नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टलाई टेलिफोनमार्फत निर्देशन दिए।

घाइते पत्रकार ढकालले आफ्नो रोजगारीको सुनिश्चितता गरिदिन मन्त्रीसँग आग्रह गरेका थिए, जसमा मन्त्रीले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए। निरीक्षणका क्रममा पत्रकार महासङ्घ चितवनका अध्यक्ष वसन्त पराजुलीले जिल्लाको पत्रकारितामा रहेका चुनौतीहरूबारे मन्त्रीलाई अवगत गराएका थिए।