२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

भेनेजुएलामा अमेरिकाको ठुलो सैन्य आक्रमण: राष्ट्रपति मादुरो दम्पती नै पक्राउ

भेनेजुएलामा अमेरिकाको ठुलो सैन्य आक्रमण: राष्ट्रपति मादुरो दम्पती नै पक्राउ

न्युयोर्क – लामो समयदेखिको कूटनीतिक तनावपछि अमेरिकाले दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा प्रत्यक्ष सैन्य आक्रमण गरेको छ। शनिबार बिहानै भएको यस कारबाहीमा अमेरिकी विशेष बलले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई कब्जामा लिएर देशबाहिर लगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन्।

अमेरिकाले भेनेजुएलाको राजधानी कराकाससहित मिरान्डा, अरागुआ र लाग्वाएरा जस्ता प्रमुख सहरहरूलाई निशाना बनाएर आक्रमण गरेको हो। मादुरोमाथि लागुऔषध कारोबार र अमेरिका विरोधी आतंकवादी गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको थियो। उनलाई अब अमेरिकामा आपराधिक मुद्दा चलाइने तयारी गरिएको छ।

इतिहास दोहोरियो: पानामादेखि भेनेजुएलासम्म यो घटनाले ठिक ३५ वर्षअघि पानामाका सैन्य नेता म्यानुएल नोरिएगाको गिरफ्तारीलाई ताजा बनाएको छ। सन् १९९० जनवरी ३ मा अमेरिकाले यसै गरी पानामामा आक्रमण गरेर नोरिएगालाई पक्राउ गरेको थियो। त्यसको ३५ वर्षपछि अमेरिकाले आफ्नो मुख्य भूमिबाट ४,५०० किलोमिटर टाढा रहेको भेनेजुएलामा उस्तै प्रकारको कारबाही दोहोर्‍याएको छ।

आक्रमणको पृष्ठभूमि र क्षति दुई देशबीचको सम्बन्ध पछिल्लो समय निकै बिग्रिएको थियो। अमेरिकाले भेनेजुएलाका ३० भन्दा बढी जहाज कब्जा गरेपछि भेनेजुएलाले पनि अमेरिकी नागरिकलाई पक्राउ गरेको थियो। विश्वकै सबैभन्दा बढी तेल खानी भएको भेनेजुएलाले अमेरिकी कम्पनीहरूलाई बन्देज लगाएर तेल नबेच्ने निर्णय गरेपछि ‘तेल राजनीति’ ले कूटनीतिक रूपमा शत्रुता बढाएको थियो।

यस आक्रमणमा परी कतिपय सर्वसाधारण र सैनिक अधिकारीहरू हताहत भएको बताइए पनि क्षतिको यकिन तथ्याङ्क अझै आउन बाँकी छ। भेनेजुएला सरकारले ठुलो भौतिक क्षति भएको दाबी गरेको छ।

विश्वभरबाट विरोध अमेरिकाको यस कदमको अन्तर्राष्ट्रिय स्तरमा व्यापक विरोध सुरु भएको छ। रुस, इरान, स्पेन, कोलम्बिया र क्युबा जस्ता देशहरूले यसलाई “सैन्य हस्तक्षेप” भन्दै भर्त्सना गरेका छन्। संयुक्त राष्ट्र सङ्घ र युरोपेली युनियनले पनि यस घटनालाई नजिकबाट नियालिरहेको र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आग्रह गरेका छन्।