२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

दक्षिण कोरियामा कुलुङ समुदायले मनाए किरात नयाँ वर्ष ‘येले दोंग ५०८६’

दक्षिण कोरियामा कुलुङ समुदायले मनाए किरात नयाँ वर्ष ‘येले दोंग ५०८६’

डा. किशोर कोइराला,दक्षिण कोरिया – दक्षिण कोरियामा रहेका किरात कुलुङ समुदायले आफ्नो मौलिक पहिचान र परम्परा झल्किने गरी किरात नयाँ वर्ष ‘येले दोंग ५०८६’ भव्य रूपमा मनाएका छन्। किरात कुलुङ समाज दक्षिण कोरियाको आयोजनामा सुवोनस्थित सराक एभरेस्ट रेस्टुरेन्टमा  कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सहभागीहरू आफ्नै जातीय पोसाक र परम्परागत गरगहनामा सजिएर उपस्थित भएका थिए, जसले विदेशी भूमिमा पनि किरात सभ्यताको सुन्दर झल्को दिएको थियो। समाजका अध्यक्ष उदिप कुलुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा किरात राई यायोक्खाका प्रमुख सल्लाहकार पुरन याम्फू मुख्य अतिथि थिए।

कार्यक्रममा बोल्दै मुख्य अतिथि याम्फूले प्रवासमा रहे पनि आफ्नो भाषा र संस्कृति जोगाउनु गौरवको कुरा भएको बताए। त्यस्तै, विशेष अतिथि अन्जन कुलुङ राईले सामाजिक संस्थाहरूलाई राजनीतिक प्रभावबाट टाढा राख्दै भाषा र पहिचानको संरक्षणमा मात्र केन्द्रित गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमको सुरुवात कुलुङ परम्पराअनुसार पूजाआजा गरेर गरिएको थियो, जहाँ समुदायको सुख, शान्ति र समृद्धिको कामना गरियो। औपचारिक कार्यक्रमपछि सहभागीहरूले मौलिक गीत र नृत्य प्रस्तुत गर्दै प्रवासमा पनि “आफ्नै गाउँघर” को अनुभूति दिलाएका थिए। किरात कुलुङ समाजले आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत समुदायलाई एकताबद्ध बनाउने प्रतिबद्धता जनाएको छ।