“अब भेनेजुएला हाम्रो नियन्त्रणमा छ”: राष्ट्रपति ट्रम्पको कडा चेतावनी र तेलमाथि दाबी
- २१ पुस २०८२
- २ मिनेटको पढाई
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको पछिल्लो अवस्थाबारे बोल्दै अब त्यहाँको पूर्ण शासन व्यवस्था अमेरिकी नियन्त्रणमा रहेको घोषणा गरेका छन्। एयर फोर्स वान (राष्ट्रपतीय विमान) मा पत्रकारहरूसँग कुरा गर्दै उनले स्पष्ट शब्दमा भने, “don’t ask me who’s in charge… it means we’re in charge” (कसको नियन्त्रण छ भनेर मलाई नसोध्नुहोस्, यसको अर्थ अब हाम्रो नियन्त्रण छ)।
राष्ट्रपति ट्रम्पले भेनेजुएलाको सर्वोच्च अदालतबाट अन्तरिम राष्ट्रपति नियुक्त भएकी डेल्सी रोड्रिगेजलाई समेत कडा चेतावनी दिएका छन्। उनले यदि रोड्रिगेजले अमेरिकासँग सहयोग नगरेमा उनको हालत पक्राउ परेका निकोलस मादुरोको भन्दा पनि “खराब हुन सक्ने” बताए। ट्रम्पका अनुसार पक्राउ पर्ने बेला मादुरोले तुरुन्तै आत्मसमर्पण गरेका थिए, तर रोड्रिगेजले सही बाटो नअपनाए उनले ठुलो मूल्य चुकाउनुपर्ने छ।
तेल र आर्थिक योजना ट्रम्पले भेनेजुएलाको विशाल तेल भण्डारमाथि अमेरिकाको दाबी रहने सङ्केत दिएका छन्। उनले भेनेजुएलाले विगतमा अमेरिकी तेल कम्पनीहरूको सम्पत्ति “चोरेको” आरोप लगाउँदै अब अमेरिकी कम्पनीहरूले नै त्यहाँको पूर्वाधार विकास गर्ने र तेल उत्पादन सुरु गर्ने बताए। “हामी हाम्रो तेल फिर्ता लिनेछौँ,” ट्रम्पले भने। उनले भेनेजुएलामा लोकतान्त्रिक निर्वाचन उपयुक्त समयमा मात्र हुने र तबसम्म अमेरिकाले नै सबै कुरा सञ्चालन गर्ने स्पष्ट पारेका छन्।
डेल्सी रोड्रिगेजको कूटनीतिक प्रयास यता, भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भने ट्रम्पको आक्रामक शैलीको विपरीत कूटनीतिक र नरम भाषा प्रयोग गरेकी छिन्। उनले सामाजिक सञ्जालमार्फत अमेरिकासँग “सहकार्यको एजेन्डा” मा काम गर्न र अन्तर्राष्ट्रिय कानुनको परिधिभित्र रहेर सम्बन्ध अघि बढाउन प्रस्ताव गरेकी छिन्। उनले आफ्नो क्षेत्रले युद्ध होइन, शान्ति र संवाद चाहेको उल्लेख गरेकी छिन्।
छिमेकी देशहरूमा त्रास ट्रम्पको यो हाउभाउले भेनेजुएला मात्र होइन, छिमेकी देशहरूमा पनि हलचल मच्चाएको छ। उनले कोलम्बियामाथि सैन्य कारबाही हुन सक्ने सङ्केत दिएका छन् भने क्युबाको सरकार आफैँ ढल्ने भविष्यवाणी गरेका छन्। यति मात्र होइन, उनले पुनः ‘ग्रिनल्यान्ड’ किन्ने आफ्नो पुरानो चाहना समेत दोहोर्याएका छन्, जसको डेनमार्कले कडा विरोध गरेको छ।