युके पठाइदिने बहानामा १८ लाख ठगी गर्ने तीन जना पक्राउ
- २१ पुस २०८२
- १ मिनेटको पढाई
काठमाडौँ । वैदेशिक रोजगारीका लागि युके (संयुक्त अधिराज्य) पठाइदिने र त्यहाँ आकर्षक तलब दिलाउने प्रलोभन देखाएर लाखौँ रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा ३९ वर्षीय इन्द्रबहादुर केसी, ४० वर्षीय आइते तामाङ र ३४ वर्षीय विजय गुरूङ रहेका छन्।
प्रहरीका अनुसार इन्द्रबहादुर र आइतेले मिलेर सात जना व्यक्तिलाई युके पठाइदिने विश्वास दिलाई कुल १३ लाख रुपैयाँ ठगी गरेका थिए। त्यस्तै, अर्का आरोपी विजय गुरूङले एक जना पीडितबाट ५ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। पीडितहरूले आफू ठगिएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएका थिए।
पक्राउ परेकामध्ये इन्द्र र आइतेलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ। अर्का आरोपी विजयलाई भने वैदेशिक रोजगार विभाग, ताहाचल चलान गरिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन्।