२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

केपी शर्मा ओलीमाथिको ‘स्थान हद’ फुकुवा: अब विदेश भ्रमण र उपत्यका बाहिर जान पाउने

केपी शर्मा ओलीमाथिको ‘स्थान हद’ फुकुवा: अब विदेश भ्रमण र उपत्यका बाहिर जान पाउने

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद सरकारले हटाएको छ। गत भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले ओलीमाथि लगाइएको विदेश भ्रमण र काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्थालाई सोमबारदेखि फुकुवा गरेको हो।

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार भदौको घटनाका सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीले चालेका कदमबारे सोधपुछ गर्ने कार्य सम्पन्न भएको छ। अनुसन्धानका लागि सोधपुछ बाँकी रहेकाले यसअघि असोज १२ गते उनलाई उपत्यका बाहिर जान र विदेश भ्रमण गर्न रोक लगाइएको थियो। आइतबार आयोगको टोलीले ओलीको भक्तपुरस्थित गुण्डु निवासमा पुगेर उहाँको लिखित बयान लिएपछि यो प्रतिबन्धको औचित्य समाप्त भएको ठहर गरिएको हो।

आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखक, चारवटै सुरक्षा निकायका प्रमुखहरू र जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूसँग पनि बयान लिइसकेको छ। प्रवक्ता शर्माका अनुसार ‘जेनजी’ आन्दोलनसँग सम्बन्धित व्यक्तिहरूसँग पनि विवरण लिने काम सकिएको छ र आयोगले आफ्नो प्रतिवेदनलाई अन्तिम रूप दिन तीव्र गतिमा काम गरिरहेको छ।

आयोगको प्रारम्भिक तीन महिनाको समयावधि सकिएपछि अहिले थप गरिएको एक महिनाको कार्यकाल चलिरहेको छ।