२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

न्युयोर्कमा ‘स्वस्थानी महोत्सव २०२६’ सुरु: १०८ कलश यात्रासहित भव्य शुभारम्भ

न्युयोर्कमा ‘स्वस्थानी महोत्सव २०२६’ सुरु: १०८ कलश यात्रासहित भव्य शुभारम्भ

न्युयोर्क – नेपाली मौलिक परम्परा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले अमेरिकाको न्युयोर्कमा ‘न्यूयोर्क स्वस्थानी महोत्सव-२०२६’ भव्य रूपमा सुरु भएको छ। रिजउड नेपाली समाजको आयोजनामा न्युयोर्कको एक मात्र नेपाली मन्दिर (दुर्गा मन्दिर) तथा सामुदायिक केन्द्रमा शनिबारदेखि यो महोत्सव सुरु भएको हो।

महोत्सवको पहिलो दिन न्युयोर्क राज्यका कम्पट्रोलर थोमस पी. डिनापोली र नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले संयुक्त रूपमा उद्घाटन गरेका छन्। कार्यक्रममा न्युयोर्क राज्यकी एसेम्बली मेम्बर जेनिफर राजकुमार लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधि र ठुलो संख्यामा नेपाली समुदायको उपस्थिति थियो।

नेपाली मौलिक बाजागाजासहित निकालिएको १०८ कलश यात्राले न्युयोर्कको नेपाली मन्दिर परिसरमा स्वस्थानी मातालाई प्रवेश गराएको थियो। यसमा बालबालिकादेखि वृद्धवृद्धासम्मको उत्साहजनक सहभागिता थियो।

महोत्सवको पहिलो दिनमै श्रद्धालु भक्तजनहरूबाट $३६,३०३ डलर (करिब ४८ लाख नेपाली रुपैयाँ) आर्थिक सहयोग संकलन भएको आयोजकले जनाएको छ।

महोत्सवको मुख्य लक्ष्य नेपाली धार्मिक परम्पराको संरक्षण, सामुदायिक एकता र दुर्गा मन्दिर तथा सांस्कृतिक केन्द्रको पुनर्निर्माण गर्नु रहेको छ।

रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्टको सभापतित्वमा सम्पन्न यस समारोहलाई अमित प्रताप शाहले सञ्चालन गरेका थिए। आयोजकले ५०० डलरभन्दा बढी दान गर्ने दाताहरूलाई प्रमाणपत्रसहित सम्मान गर्ने र उनीहरूको नाम स्थायी दातृ सूचीमा समावेश गर्ने बताएको छ।

अनुष्ठानभर इच्छुक भक्तजनहरू, कर्ता बस्न सक्ने र मन्दिरको दिगो सञ्चालनका लागि सहयोग गर्न सक्ने आयोजक समितिले अनुरोध गरेको छ।