टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक
- २१ पुस २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- आगामी सन् २०२६ मा आयोजना हुने आइसीसी पुरुष टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी काठमाडौँमा एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकपको सक्कली ट्रफी प्रदर्शनीकै अवसर पारेर नेपाली खेलाडीहरूले मैदानमा लगाउने आधिकारिक पोशाक सार्वजनिक गरेको हो। यस पटकको जर्सी गाढा निलो रङको छ, जसमा नेपालको राष्ट्रिय पहिचान झल्काउने चन्द्र र सूर्य अङ्कित गरिएका छन्।
जर्सी सार्वजनिक गर्ने क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा क्रिकेटप्रतिको आकर्षण र क्रेज तीव्र गतिमा बढिरहेको धारणा राखे। उनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले विश्वकपमा सहभागी हुने देशहरूमा ट्रफी टुर गराउनाले खेल र खेलाडीको उत्साह थप बढेको बताए।
नेपाली क्रिकेटका समर्थकहरूलाई मध्यनजर गर्दै यो जर्सी निकै सुलभ मूल्यमा उपलब्ध गराउने तयारी समेत गरिएको छ। भाटभटेनी होल्डिङका म्यानेजर आलोक गुरुङका अनुसार समर्थकहरूले मात्र ७९९ नेपाली रुपैयाँमा यो जर्सी खरिद गर्न सक्नेछन्।
यसैबीच, विश्वकपको ट्रफीलाई नेपालका विभिन्न पर्यटकीय तथा विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रहरूमा घुमाउने क्यानको योजना रहेको छ। यद्यपि, सोमबार ट्रफीलाई सगरमाथा आधार शिविर (एभरेस्ट बेस क्याम्प) लैजाने कार्यक्रम रहेतापनि प्रतिकूल मौसमका कारण उक्त योजना सफल हुन सकेन। यो जर्सी र ट्रफीको आगमनले आगामी विश्वकपमा नेपाली टोलीको प्रदर्शनलाई लिएर खेलप्रेमीहरूमा नयाँ उत्साह र आत्मविश्वास पैदा गरेको छ।