२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

एपस्टेन फाइल सार्वजनिक गर्न ढिलाइ: २० लाख कागजात अझै समीक्षाको क्रममा

एपस्टेन फाइल सार्वजनिक गर्न ढिलाइ: २० लाख कागजात अझै समीक्षाको क्रममा

वासिङ्टन- अमेरिकी न्याय मन्त्रालयले यौन अपराधी जेफ्री एपस्टेनसँग सम्बन्धित लाखौँ फाइलहरू सार्वजनिक गर्ने समयसीमा दुई हप्ताका लागि थप गरेको छ। ‘एपस्टेन फाइल ट्रान्सपरेन्सी ऐन’ अनुसार डिसेम्बर १९ भित्रै सबै कागजात बाहिर ल्याउनुपर्ने भए पनि २० लाखभन्दा बढी पृष्ठहरू अझै समीक्षाकै चरणमा रहेकाले विभागले समय थपको माग गरेको हो। मन्त्रालयका अनुसार हालसम्म करिब सवा लाख पृष्ठका १२ हजारभन्दा बढी कागजात मात्र सार्वजनिक भएका छन्, जुन कुल फाइलको एक प्रतिशतभन्दा पनि कम हो।

यस प्रक्रियामा ४०० भन्दा बढी सरकारी वकिल र १०० जना विशेष तालिम प्राप्त एफबिआई कर्मचारीहरू खटिएका छन्। पीडितहरूको गोपनीयता र संवेदनशील जानकारी सुरक्षित राख्न प्रत्येक कागजातलाई मानिस आफैँले (म्यानुअल) जाँच गर्नुपर्ने भएकाले ढिलाइ भएको मन्त्रालयको दाबी छ। यता राष्ट्रपति डोनाल्ड ट्रम्पले फाइल सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै विपक्षी डेमोक्रेटिक दलको कडा दबाब झेलिरहनुभएको छ भने प्रशासनले पीडितको सुरक्षालाई मुख्य कारण देखाउँदै आफ्नो कदमको बचाउ गरेको छ।