२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

ग्रिनल्यान्ड अधिग्रहण गर्ने ट्रम्पको प्रस्तावमा युरोपेली देशको कडा विरोध

ग्रिनल्यान्ड अधिग्रहण गर्ने ट्रम्पको प्रस्तावमा युरोपेली देशको कडा विरोध

बर्लिन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज र रणनीतिक दृष्टिले महत्त्वपूर्ण ग्रिनल्यान्ड टापुलाई अमेरिकाले आफ्नो नियन्त्रणमा लिनुपर्ने अभिव्यक्ति दिएपछि युरोपेली नेताहरूले त्यसको कडा शब्दमा प्रतिवाद गरेका छन्। फ्रान्स, जर्मनी, बेलायत र इटाली लगायतका देशहरूले डेनमार्कसँग ऐक्यबद्धता जनाउँदै ग्रिनल्यान्ड त्यहाँका जनताको स्वामित्वमा रहेको र यसको सार्वभौमिकतामाथि कुनै पनि बाह्य हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेका छन्। ह्वाइट हाउसका अधिकारीहरूले ग्रिनल्यान्डलाई अमेरिकाको सुरक्षा संरचनाको महत्त्वपूर्ण अङ्गका रूपमा व्याख्या गरिरहँदा युरोपले भने यसलाई अन्तर्राष्ट्रिय कानुनविपरीतको कदम भनेको छ।

डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले अमेरिकी अधिग्रहणको प्रयासले नाटो सैन्य गठबन्धनको अस्तित्वमाथि नै खतरा पैदा गर्न सक्ने र यसले युरोप–अमेरिका सुरक्षा सम्बन्धमा गम्भीर असर पार्ने चेतावनी दिनुभएको छ। भेनेजुएलामा भएको अमेरिकी सैन्य कारबाहीकै बीच ट्रम्पले ग्रिनल्यान्डलाई नियन्त्रणमा लिने नयाँ आह्वान गरेपछि युरोपेली नेताहरूले एक स्वरमा यसलाई अस्वीकार गरेका हुन्। उनीहरूले ग्रिनल्यान्डको भविष्य त्यहाँकै जनताले तय गर्ने र कुनै पनि बाह्य दबाब वा खरिद–बिक्रीको विषय हुन नसक्ने दृढ अडान लिएका छन्।